नेपाल टेलिकमको खुद नाफा साढे ४१ करोड रूपैयाँले घट्यो
काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा २३.८२ प्रतिशतले घटेको छ । सोमबार सार्वजनिक भएको टेलिकमको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार कम्पनीको नाफा ४१ करोड ४४ लाख रुपैयाँले घटेको हो । कम्पनीले यस आवको पहिलो त्रैमासिकमा एक अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा टेलिकमको खुद नाफा एक अर्ब ७३ करोड रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी (वार्षिक) २९.४५ रुपैयाँ रहेको छ ।
टेलिकमले चालू वर्षको पहिलो त्रैमासिकमा कुल नौ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । नाफासँगै कम्पनीको आम्दानीमा ५.८९ प्रतिशतको गिरावट देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल आम्दानी १० अर्ब ६ करोड रुपैयाँ थियो । त्यसैगरी, कुल सञ्चालन आयमा पनि झिनो गिरावट आएको छ । चालू आवको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय आठ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय आठ अर्ब ६८ करोड रुपैयाँकोफ तुलनामा ६ लाख ७१ हजार रुपैयाँले घटेको छ । टेलिकमले ओभर द टप (ओटीटी) सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा थप असर परेको जनाएको छ । जसका कारण अन्तरआबद्धताबाट हुने आम्दानी गत आव २०८१/८२ को प्रथम त्रैमासिकसम्मको तुलनामा करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ । यो १७.२९ प्रतिशतको गिरावट रहेको टेलिकमले जनाएको छ ।
त्यसैगरी, बैङ्कहरूमा अधिक तरलताका कारण ब्याजदर न्यून बनेको छ । जसका कारण ब्याजदरमा ह्रास आएकाले मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ४९ प्रतिशत गिरावट देखिएको टेलिकमले जनाएको छ । कम्पनीले गर्ने ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको छ । यस्तै, कर्मचारी सुविधा खर्चतर्फ कर्मचारी बीमा खर्च एक करोड ९५ लाख रुपैयाँले बढेको छ । कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको डिस्काउन्ट दर ७.५ प्रतिशतबाट ७ प्रतिशत भएकाले कर्मचारी अवकाश सम्बन्धी खर्च १६ करोड ५० लाख रुपैयाँले बढेको जनाएको छ । जसका कारण कम्पनीको कुल कर्मचारी खर्चमा आठ करोड ८० लाख रुपैयाँले बढेको छ ।
