मेटलाइफ ‘फर्च्युन वर्ल्ड’को उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित
न्यूयोर्क – विश्वको प्रतिष्ठित सूचीकर्ता फर्च्युन वर्ल्डले २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट २५ कार्यस्थलको सूचीमा मेटलाइफ, इंक लगातार दोस्रो वर्ष स्थान बनाएको छ। यस वर्ष मेटलाइफले सो सूचीमा १०औँ स्थान हासिल गरेको छ।
विश्वभरका केवल २५ कम्पनीलाई दिइने यो मान्यताले मेटलाइफको कर्मचारी, ग्राहक र समुदायप्रति रहेको दिगो प्रतिबद्धतालाई झल्काउँछ। मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफ का अनुसार, “यो मान्यता हाम्रा कर्मचारीहरूको निरन्तर समर्पण र ऊर्जाको प्रमाण हो। हामीले सबै कर्मचारीले फस्टाउन सक्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता अझ दृढ बनाएका छौँ।”
फर्च्युनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्क द्वारा नौ मिलियनभन्दा बढी कर्मचारी सर्वेक्षण प्रतिक्रियामा आधारित मूल्यांकनबाट सूची तयार गरिएको हो। विश्वभर २ करोड ५० लाखभन्दा बढी कामदारको अनुभव प्रतिनिधित्व गर्ने आधारमा उत्कृष्ट कार्यस्थल चयन गरिन्छ।
मेटलाइफलाई अमेरिकी फर्च्युन १०० उत्कृष्ट कम्पनी सूचीमा लगातार तेस्रो वर्ष स्थान मिलेको छ भने एशिया, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्वका विभिन्न देशमा पनि उत्कृष्ट कार्यस्थलको मान्यता प्राप्त छ। २०२५ मा मेटलाइफ ३३ विभिन्न बजारमा ‘सर्टिफाइड ग्रेट प्लेस टु वर्क’ बनेको छ।
मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिस का अनुसार, “हाम्रा उपलब्धिको मूल प्रेरक शक्ति हाम्रा कर्मचारी हुन्। कर्मचारीलाई सम्मान, मान्यता र सशक्तिकरण दिने हाम्रो संस्कृतिले यो उपलब्धि सम्भव बनाएको हो।”
फर्च्युनका मापदण्डअनुसार, उत्कृष्ट २५ विश्वव्यापी कार्यस्थलमा सूचीकृत हुन कम्पनीसँग ५ हजार वा सोभन्दा बढी कर्मचारी हुनु पर्नेछ, र कम्तिमा पाँच महादेशका उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त हुनुपर्छ। मेटलाइफले यी मापदण्ड पूरा गर्दै वैश्विक प्रतिस्पर्धामा उच्च स्थान सुरक्षित गरेको छ।
