योयो प्लाइउड उद्योग बन्द, ६ सयभन्दा बढी मजदुर बेरोजगार
बाँके । कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि तीन महिनादेखि बन्द रहँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुर रोजगारीविहीन भएका छन्।
व्यवस्थापनले ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनका नाममा भएको आन्दोलनका कारण उद्योग सञ्चालन असम्भव बनेको भन्दै कारखाना नै बन्द गरेपछि मजदुरहरू समस्या पर्न पुगेका हुन्।
उद्योग बन्द भएपछि धेरै मजदुरले संगठनको राजनीति भन्दा पनि रोजगारीको सुनिश्चितता महत्वपूर्ण भएको बताउँदै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन्।
उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित बनेका छन्। केही मजदुरले आफ्नो सहमति बिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको नाम समेत राखेर फर्जी रूपमा युनियन गठन गरिएको आरोप लगाएका छन्। उनीहरूले युनियन खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन्।
मजदुर शोभाराम यादवका अनुसार युनियनका नाममा सुरु गरिएको आन्दोलनका कारण वास्तविक मजदुरहरू नै बेरोजगार बन्न बाध्य भएका छन्। त्यस्तै, मजदुर गीता थारुले संगठनका आन्दोलनकै कारण आफूले दुई महिनादेखि रोजगारी गुमाएको बताइन्।
उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले युनियनको नेतृत्व गर्ने धेरै सदस्य उद्योगका वास्तविक कर्मचारी नै नभएको दाबी गरेका छन्। फर्जी नाम र हस्ताक्षरका आधारमा ट्रेड युनियन दर्ता गरिएको भन्दै उनले श्रम कार्यालयले वास्तविकता नबुझी उद्योगको खाता रोक्का गरेपछि सञ्चालन असम्भव बनेको बताए।
उनका अनुसार उद्योग पहिले नै पूर्ण क्षमतामा चल्न नसक्दा दैनिक पाँच लाख रुपैयाँ घाटा व्यहोर्दै आएको थियो। खाता रोक्का भएपछि परिस्थिति झनै गम्भीर बनेको र उद्योग बन्द गर्न बाध्य हुनुपरेको उनले स्पष्ट पारे।
श्रेष्ठले सरकारद्वारा तोकिएको मापदण्डअनुसार पारिश्रमिक दिइरहेको र तत्काल बोनस तथा पारिश्रमिक वृद्धि गर्न नसक्ने स्थिति भए पनि परिस्थित सुधारिनासाथ सेवा–सुविधा बढाउँदै लैजाने योजना रहेको बताए।
श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले मजदुरहरूबीच विभाजन भएको स्वीकार गर्दै मजदुरले उचित पारिश्रमिक नपाएको भन्दै दिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको बताए। उनले उद्योगको खाता रोक्का गरिएपछि अहिले मजदुर र उद्योग दुवै पक्ष उद्योग पुनः सञ्चालनको वातावरण बनाउन माग गरिरहेको जानकारी दिए।
ट्रेड युनियन दर्ताको विषयमा उनले दर्ताका लागि प्राप्त निवेदन र मजदुरका हस्ताक्षरका आधारमा प्रक्रिया अगाडि बढाइएको बताउँदै हस्ताक्षर कीर्तेसम्बन्धी विवाद भए श्रम अदालतमा ३५ दिनभित्र मुद्दा दायर गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
पाँच वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले ढोरपुर, ठाडागाउँ र वरपरका स्थानीय, विशेषगरी खटिक समुदायलाई रोजगारी प्रदान गर्दै आएको थियो। उद्योग बन्द भएपछि स्थानीय बासिन्दाको मुख्य रोजगारीको स्रोत पनि बन्द भएको छ।
