बुधबार २४ मंसिर, २०८२

सेयर बजार २६०० अंकमा, कारोबार सवा ६ अर्ब नाघ्यो

सेयर बजार २६०० अंकमा, कारोबार सवा ६ अर्ब नाघ्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार उत्साहपूर्ण रुपमा अगाडि बढ्यो। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३९.९२ अंकले बढ्दै २६०० अंकमा पुगेको छ।

कारोबार खुलेको केही क्षणमै बजार उकालो लाग्न थालेको नेप्से दिनभर हरियोमै रह्यो। आज बजारमा २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनी घटे र २ कम्पनी स्थिर रहे।

कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भयो। बिहीबार ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार बढेर ६ अर्ब २८ करोड पुग्यो। लगानी र जीवन बीमा उपसमूह सबैभन्दा बढी बढ्ने समूह बने, दुवै समूहले २ प्रतिशतभन्दा बढी वृद्धि गरे। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा अन्य सबै समूहले हरियो संकेत देखाए भने व्यापार समूहले पनि हल्का वृद्धि दर्ज गर्‍यो।

आज सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा एनर्जीका सेयर १० प्रतिशतले उकालो लाग्दै सर्किट हिट भए। स्वस्तिक लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर र समता घरेलु लघुवित्तको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखियो। विपरीत, आज पिपुल्स हाइड्रोपावर सबैभन्दा धेरै घट्ने कम्पनी रह्यो, जसको मूल्य ७.६५ प्रतिशतले कम भयो। मोदी इनर्जी, सप्तकोशी विकास बैंक र सिन्धु विकास बैंकको मूल्यमा पनि उल्लेख्य गिरावट देखियो।

आज धेरै कारोबार हुने कम्पनीको अगाडि एनआरएन इन्फ्रास्ट्रक्चर रहेको थियो। त्यसपछि पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा र शिवम् सिमेन्ट सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने।