धान पाक्ने सिजनमा १० अर्ब बराबरको धान र चामल आयात
काठमाडौँ । अहिले धान पाकेको सिजनमा सरकारले धान खरिद नगरिदिँदा किसान चिन्तित बनेको अवस्था छ । सरकारी निकाय खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले सीमित परिमाणमा कोटा छुट्याएर मात्रै धान खरिद गरिरहेको छ ।
तर यहिबेला बाहिरी मुलुकबाट बाट ठुलो परिमाणमा धान चामल आयात भएको तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० अर्ब बराबरको धान, चामल र कनिका आयात भएको हो ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म (चार महिना) मा १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान चामल र कनिका आयात भएको छ ।
यसमध्ये ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँको ९६ हजार ९७० मेट्रिक टन धान, ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँको ८४ हजार ९७५ मेट्रिक टन चामल र १३ करोड ३२ लाख रुपैयाँको ३ हजार २५२ मेट्रिकटन कनिका आयात गरेको विभागले जनाएको छ ।
