सोमबार २२ मंसिर, २०८२

बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँ धन्दा, जाहेरी नपरेपछि ‘डिपोर्ट’ तयारी

बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँ धन्दा,  जाहेरी नपरेपछि ‘डिपोर्ट’ तयारी

काठमाडौं। काठमाडौंमा बिहेको प्रलोभन देखाएर नेपाली युवतीलाई चीन लैजाने योजना बनाउँदै आएको चार चिनियाँलाई अध्यागमन विभागले पक्राउ गरेको छ। उनीहरू बिजनेस भिसामा नेपाल आएका थिए, तर यहाँ कुनै व्यवसाय सञ्चालन गरेको प्रमाण छैन।

अध्यागमन विभागले २८ असोजमा सोह्रखुट्टे क्षेत्रभन्दा केही पर म्हैपीको घरमा चार चिनियाँलाई पक्राउ गरेको हो। यसै घरमा चार नेपाली युवती पनि फेला परेका थिए। अनुसन्धान अनुसार चिनियाँहरूले युवतीसँग सम्पर्क गरी सामाजिक सञ्जालमा भिडियो तथा तस्वीर पठाएर चीनमा रहेका पुरुषहरूसँग बिहे गराएर लैजाने योजना बनाएका थिए।

अध्यागमन विभागले अहिलेसम्म यस समूहले १०० भन्दा बढी युवतीलाई यसरी चीन पुर्‍याएको जानकारी पाएको छ। तर पीडितहरूले जाहेरी नदिँदा अनुसन्धानमा बाधा परेको छ। विभागले कानूनअनुसार पक्राउ परेकाहरूको डिपोर्ट प्रक्रिया अघि बढाएको छ।

अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले बिजनेस भिसामा आएको देखिए पनि कुनै व्यवसाय सञ्चालन प्रमाण नभएको बताए। विभागले सो समूहको भिसा विपरीत काम पुष्टि भएपछि नियन्त्रणमा राखेको छ।