आइतबार २१ मंसिर, २०८२

कर्णालीका सहकारी संकटमुक्त, सुरक्षित छ बचतकर्ताको ८ अर्बभन्दा बढी रकम

कर्णालीका सहकारी संकटमुक्त, सुरक्षित छ बचतकर्ताको ८ अर्बभन्दा बढी रकम

सुर्खेत । देशभर केही सहकारी संस्थाले बचत अपचलन र गलत व्यवस्थापनमार्फत बदनामी कमाइरहेका बेला, कर्णाली प्रदेशका सहकारी संस्थाहरू संकटमुक्त देखिएका छन्।

नियमित अनुगमनमा, कर्णालीका ३११ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ, जसमा २९१ जिल्ला स्तरका, ७ जिल्ला संघ र १३ विषयगत संघका सहकारी रहेका छन्।

सहकारीमा समस्या नआउँदा सदस्यहरूको कुल ८ अर्ब १९ करोड बचत रकम सुरक्षित रहेको छ। रजिस्ट्रार कार्यालयका वरिष्ठ शाखा अधिकृत भीमबहादुर कार्कीका अनुसार, कर्णालीका सहकारी संस्थाहरूमा सञ्चालकहरूले खासै ठूलो गल्ती गरेको देखिँदैन; केवल थोरै प्राविधिक त्रुटि मात्र भेटिएको छ।

प्रदेशमा सबैभन्दा धेरै सहकारी सुर्खेतमा १०२ वटा, दैलेख ३७, जुम्ला ३४, कालिकोट ३२, जाजरकोट २७, सल्यान २५, रुकुमपश्चिम २३, हुम्ला १५, मुगु ११ र डोल्पा ५ रहेका छन्।

कुल सदस्य संख्या २ लाख ६२ हजार ३२३ रहेको छ, जसमा महिला सदस्यको संख्या १ लाख ८२ हजार ५०३ र पुरुष सदस्य ७९ हजार ८२० छन्।

कर्णालीका सहकारीको कुल सेयर पुँजी १ अर्ब ७५ करोड, कुल बचत ८ अर्ब १९ करोड, र कुल ऋण लगानी ११ अर्ब ५१ करोड रहेको छ। कुल सम्पत्ति र दायित्व १४ अर्ब २१ करोड बराबर छ। यस क्षेत्रमा प्रत्यक्ष रूपमा १ हजार ९८ जनालाई रोजगारी उपलब्ध भएको छ।

कार्कीका अनुसार, सहकारी क्षेत्रमा सामान्यतया कानुनको ज्ञान नहुनु वा सानासाना प्राविधिक त्रुटि मात्र देखिएको छ। अनुगमनका क्रममा समस्या भेटिएमा प्रशिक्षण र निर्देशनमार्फत सुधार गराइएको छ।

सहकारीले सदस्यहरूको विश्वास कायम राख्न, वित्तीय अनुशासन, सम्पत्ति शुद्धीकरण, जोखिम वर्गीकरण, फारम अद्यावधिक र असामान्य कारोबारको निगरानी सुनिश्चित गर्नुपर्ने कार्कीले जोड दिएका छन्।