सोमबार २२ मंसिर, २०८२

राष्ट्र बैंकले परिवर्तन गर्‍यो मुद्रास्फीति मापनको आधार वर्ष : सेवा–गैरखाद्य उपभोग ६४.५१%, रणनीतिमा प्रभाव

राष्ट्र बैंकले परिवर्तन गर्‍यो मुद्रास्फीति मापनको आधार वर्ष : सेवा–गैरखाद्य उपभोग ६४.५१%, रणनीतिमा प्रभाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क (CPI)को आधार वर्ष र गणना प्रणालीमा व्यापक सुधार गरेको छ। यसअन्तर्गत पुरानो आधार वर्ष २०१४/१५ (२०७१/७२) प्रतिस्थापन गर्दै नयाँ आधार वर्ष २०८०/८१ (२०२३/२४) कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार यस परिवर्तनले पछिल्लो समय नेपाली घरपरिवारको उपभोग ढाँचामा आएको संरचनात्मक बदलावलाई सही रूपमा प्रतिबिम्बित गर्नेछ र अन्तर्राष्ट्रिय मापदण्डअनुसार मूल्याङ्कन सक्षम बनाउनेछ।

नयाँ गणनामा, खाद्य तथा पेय पदार्थ समूहको भार ४३.९१ प्रतिशतबाट घटेर ३५.४९ प्रतिशत भएको छ भने गैर–खाद्य तथा सेवा समूहको भार ५६.०९ प्रतिशतबाट बढेर ६४.५१ प्रतिशत पुगेको छ। यसले नेपाली उपभोक्ताहरू आधारभूत खाद्यवस्तुको तुलनामा शिक्षा, स्वास्थ्य, यातायात, आवास र रेस्टुरेन्ट जस्ता सेवामा बढी खर्च गर्न थालेको देखाउँछ।

उपभोक्ता मूल्य सूचकाङ्कको प्रतिनिधित्व बढाउन, वस्तु–सेवाको बास्केट ४९६ बाट ५२५ वस्तुमा विस्तार गरिएको छ। नयाँ वस्तुमा कम्प्युटर, ल्यापटप, मोबाइल डेटा, स्वास्थ्य र शैक्षिक सेवाहरू समावेश छन्। भौगोलिक कभरेज पनि ५० जिल्लाका ६० बजारबाट ७७ जिल्लाका ८७ बजार केन्द्रमा विस्तार गरिएको छ।

गणनाका विधिमा सुधार गर्दै उच्च–स्तरीय एग्रिगेसनका लागि भारित अंकगणितीय परिमार्जित लासपेयर्स औसत विधि अपनाइएको छ। मूल्य सङ्कलनमा केन्द्रीकृत संयन्त्र र वेबमा आधारित दोहोरो प्रमाणीकरण प्रणाली लागू गरिएको छ।

यससँगै राष्ट्र बैंकले पहिलो पटक ग्रामीण र सहरी क्षेत्र अनुसार प्रादेशिक उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्ने भएको छ, जसले देशका सबै पारिस्थितिकीय क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्नेछ।