निर्वाचन खर्च पारदर्शी बनाउन नयाँ नियम : उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने
काठमाडौँ – प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने निर्वाचन आयोगको नयाँ प्रावधान लागू भएको छ। यो प्रावधान निर्वाचन आचारसंहिताको बुँदा नम्बर १६ अन्तर्गत समावेश गरिएको छ।
आचारसंहिताअनुसार, उम्मेदवारले मनोनयन दर्ता गर्दा निर्वाचन खर्चको अनुमानित रकम र त्यसको स्रोत खुलाउनु पर्नेछ। त्यस खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने, र जिम्मेवार पदाधिकारी तोक्नु पर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक मार्फत प्राप्त गर्ने, र नगद सहयोग प्राप्त भएमा त्यसको रसिद वा बैंक खातामा जम्मा गर्ने प्रावधान छ।
आचारसंहिताले उम्मेदवार र दल दुवैले खर्च विवरण, बिल र बैंक विवरण राख्न, आयोगको माग भए पेश गर्न, र निर्वाचन सम्पन्न पछि सार्वजनिक गर्नुपर्ने व्यवस्था समावेश गरेको छ।
यससँगै उम्मेदवार र दलहरूले पारदर्शिता र लेखापरीक्षण सुनिश्चित गर्दै निर्वाचन खर्च व्यवस्थापन गर्नुपर्ने भएको छ।
