बुधबार २४ मंसिर, २०८२

धितोपत्र बोर्डले बनायो मार्जिन कारोबारको प्रारम्भिक मस्यौदा, माग्यो सुझाव

धितोपत्र बोर्डले बनायो मार्जिन कारोबारको प्रारम्भिक मस्यौदा, माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबारसम्बन्धी प्रारम्भिक मस्यौदा सार्वजनिक गरी सरोकारवाला तथा आम लगानीकर्ताबाट सुझाव माग गरेको छ।

बोर्डले तयार पारेको सो मस्यौदामा मार्जिन कारोबारका लागि योग्य सेयर छान्ने आधार, ब्रोकरका योग्यता, मार्जिन कल तथा सेयर बिक्री प्रक्रिया लगायतका मुख्य प्रावधानहरू समावेश गरिएको छ।

मस्यौदाअनुसार मार्जिन सुविधामार्फत किनिने सेयरको लागि कम्पनीका सेयर कम्तीमा पचास लाख कित्ता सर्वसाधारणमा सूचीकरण भइसकेको हुनुपर्नेछ।

त्यस्तै कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष लाभांश वितरण गरेको हुनुपर्ने र सेयर सूचीकरण भएको कम्तिमा दुई वर्ष पूरा भइसकेको हुनुपर्ने व्यवस्था उल्लेख छ।

मार्जिन सुविधा प्रदान गर्ने धितोपत्र दलाल (ब्रोकर) पक्षका लागि पनि छुट्टै योग्यता तोकिएको छ। ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्ने, साथै राफसाफ सदस्यता र निक्षेप सदस्यता प्राप्त गरिएको हुनुपर्ने मस्यौदामा उल्लेख छ।

ब्रोकरले मार्जिन सुविधा अन्तर्गत खरिद गरिएका सेयर तथा प्रारम्भिक मार्जिनका रूपमा लिइएका सेयरको मूल्याङ्कन प्रत्येक दिन मार्क्ड–टु–मार्केट आधारमा गर्नुपर्नेछ। तर सेयरको मूल्यमा वृद्धि भए पनि त्यसको आधारमा थप सुविधा दिन नपाइने स्पष्ट उल्लेख गरिएको छ।

सुविधा उपलब्ध गराउने स्रोतको व्यवस्था पनि मस्यौदामा प्रस्ट पारिएको छ। ब्रोकरले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर वा आफ्नो सेयरधनी तथा सञ्चालकबाट असुरक्षित ऋण लिएर समेत मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ। ब्रोकरले प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्ने व्यवस्था राखिएको छ। यद्यपि कुनै एक ग्राहक वा उसका एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको २० प्रतिशतभन्दा बढी मार्जिन सुविधा उपलब्ध गराउन नपाइने प्रावधान समावेश गरिएको छ।

मार्जिन कारोबार गर्न चाहने लगानीकर्ताले ब्रोकरमा छुट्टाछुट्टै मार्जिन हितग्राही खाता र मार्जिन कारोबार खाता खोल्नुपर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।