सोमबार २२ मंसिर, २०८२

कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान

कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान

काठमाडौँ।  चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ । जुन रकम राष्ट्रको कूल राजश्वको २ प्रतिशत भन्दा बढी हो । 

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्‍याएको हो। 

गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ, जसले चौधरी ग्रुपको लगानी बृद्धि तीब्र गतिमा रहेको प्रष्ट पार्छ ।

यससँगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ । 

कमजोर आर्थिक गतिविधि, आयात–निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको छ ।

यसले राष्ट्रका विकास योजनाहरू, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजश्व योगदान बढाउँदै लगिरहेको छ। 

“ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौँ,” निर्वाणले सामाजिक सञ्जालमा लेखेका छन्, “गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको उल्लेखनीय योगदान गरेको छ । चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ ।”

नेपालमा व्यवसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुनेगर्छ। 

यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ । 

यसले राष्ट्र निर्माणमा व्यवसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै, सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्ने विश्वास लिइएको छ। 

पाँच बर्षमा चौधरी ग्रुपले तिर्यो ९२.२६ अर्ब राजस्व 

चौधरी ग्रुपले पछिल्लो पाँच आर्थिक बर्षमा ९२.२६ अर्ब रुपैयाँ राजस्व तिरेको छ । जसमध्ये सबैभन्दा बढी राजस्व भने गत आर्थिक बर्षमा तिरेको देखिएको छ भने कम राजस्व २०७७/७८ मा तिरेको छ । उक्त आर्थिक बर्षमा चौधरी ग्रुपले सरकारलाई कुल १४.२८ अर्ब रुपैयाँ राजस्व तिरेको थियो । जुन कुल राजस्वको १.७ प्रतिशत हो ।

त्यस्तै, आर्थिक बर्ष २०७८/७९ मा चौधरी ग्रुपले सरकारलाई १७.७२ अर्ब रुपैयाँ राजस्व तिरेको थियो । उक्त रकम कुल राजस्वमा १.८ प्रतिशत थियो । आर्थिक अस्थिरता र चुनौतिबिच पनि चौधरी ग्रुपले व्यवसायिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।

नुडल्स, अटोमोबाइल, वित्तीय, एजुकेशन, होटलदेखि उर्जालगायतका क्षेत्रमा लगानी रहेको चौधरी ग्रुपले आर्थिक बर्ष २०७९/८० मा सरकारलाई १६.१४ अर्ब अर्थात कुल राजस्वको १.८ प्रतिशत योगदान पुर्याएको थियो ।

चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/८१ मा १८.५२ अर्ब रुपैयाँ राजस्व तिरेको तथ्याङमा उल्लेख छ । जुन कुल राजस्वमा १.९ प्रतिशतको योगदान हो ।