बूढीगण्डकी–अपर अरुण जलविद्युत लगानी मोडालिटी तयार : कूल लागत ६ खर्ब २० अर्ब
काठमाडौं। १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार भएको छ। दुवै आयोजनामा स्वदेशी लगानीमार्फत निर्माण गर्ने योजना गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार गरिएको मोडालिटीको जानकारी लिएर आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएका छन्।
बूढीगण्डकी जलविद्युत आयोजना
धादिङ र गोरखामा बन्ने बूढीगण्डकी आयोजना निर्माणमा आधारभूत लागत २ अर्ब ७७ करोड डलर (३ खर्ब ७४ अर्ब रुपैयाँ) अनुमान गरिएको छ। निर्माण अवधि ८ वर्ष र निर्माण अवधिको व्याजसहित कुल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ रहनेछ। कर्जा र स्वःपूँजी अनुपात क्रमशः ७० र ३० प्रतिशत रहने प्रस्ताव गरिएको छ।
नेपाल सरकारको ८० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत शेयर स्वामित्व रहनेछ। सरकारले ९७ अर्ब ४७ करोड रुपैयाँ इक्विटी र १ खर्ब ५० अर्ब सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने योजना बनाएको छ।
आयोजनाबाट हिउँदयाममा १ अर्ब ४१ करोड, वर्षायाममा १ अर्ब ९७ करोड युनिट विद्युत उत्पादन हुने अनुमान छ। वार्षिक आम्दानी ३१ अर्ब ४८ करोड रुपैयाँ हुनेछ। बाँध निर्माणपछि धादिङ र गोरखाका ८ हजार ११७ घरपरिवार प्रभावित हुनेछन्।
अपर अरुण जलविद्युत आयोजना
सङ्खुवासभामा बन्ने १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त आयोजना निर्माण लागत १ अर्ब ७५ करोड डलर (२ खर्ब १४ अर्ब रुपैयाँ) रहेको छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपूँजीबाट लगानी जुटाइनेछ।
इक्विटीको ५१ प्रतिशत संस्थापक सेयरधनी र ४९ प्रतिशत साधारण सेयर हुने प्रस्ताव छ। संस्थापक सेयरधनीमा प्रदेश सरकार, स्थानीय तह, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बीमा कम्पनीहरू रहनेछन्। साधारण सेयरमा वैदेशिक रोजगारीमा रहेका, गैह्र आवासीय नेपाली, आयोजना प्रभावित र आम सर्वसाधारण समावेश हुनेछन्।
आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान छ। हाल निर्माणपूर्वका काम भइरहेको छ, जटिल भूगोलका कारण पहुँच सडक निर्माणाधीन छ।
दुवै आयोजनाको उद्देश्य स्वदेशी लगानीमा ऊर्जा उत्पादन बढाउनु, राष्ट्रिय ऊर्जा सुरक्षा सुनिश्चित गर्नु र लामो अवधि आर्थिक लाभ सुनिश्चित गर्नु रहेको छ।
