बुधबार २४ मंसिर, २०८२

हिमालयन एभरेष्ट इन्स्योरेन्सको गैरकानुनी क्यासब्याक : बीमितलाई ३० प्रतिशत फिर्ता गरेको खुलासा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको गैरकानुनी क्यासब्याक : बीमितलाई ३० प्रतिशत फिर्ता गरेको  खुलासा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रभावकारी निगरानीको अभावमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यासब्याक अफरमार्फत बीमामा अस्वास्थ्यकर प्रतिस्पर्धा गरिरहेको खुलासा भएको छ ।

नियामक निकायले तीन वर्षअघि नै क्यासब्याक अफरमा कडा प्रतिबन्ध लगाएको भए पनि कम्पनीले यस प्रकारको अभियान संचालन गर्दै आएको पाइएको छ ।

कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले घरबाटै सञ्चालन गरिरहेको कम्पनीले बीमितहरुलाई बीमा शुल्क फिर्ता दिने गरेको पाइएको छ ।

नियामकले केही महिना अघि क्यासब्याक सम्बन्धी चलाइएको छानविनको क्रममा पनि कम्पनीले उक्त गतिविधि लुकाउन सफल भएको देखिएको छ ।

स्रोतबाट प्राप्त जानकारी अनुसार,  कम्पनीले विभिन्न नाममा खर्च देखाएर बीमा शुल्क फिर्ता गर्ने गरेको छ । फिर्ता गर्दा खाजा, अतिथि सत्कार लगायतका बिलको माध्यमबाट खर्च समायोजन गरिएको पाइएको छ ।

मार्केटिङ कर्मचारीहरुलाई सीईओ अञ्जु श्रेष्ठले अन्य बीमा कम्पनीको ग्राहकलाई आकर्षित गर्न ३० प्रतिशतसम्म क्यासब्याक दिन निर्देशन दिएको र यस कार्यलाई गैरकानुनी तरिकाले अघि बढाएको पनि खुलेको छ ।

कम्पनीको प्रबक्ता ज्ञानेन्द्र उप्रेतीले आफू यस विषयमा कुरा गर्न नसक्ने बताएका छन् भने सचिव एवं प्रवक्ता राजकुमार खड्काले सम्पर्कमा आउन अस्वीकार गरेका छन् ।

यो घटनाले नेपालमा बीमा क्षेत्रमा नियमनको कमजोर अवस्था र सुशासनको कमी स्पष्ट पार्दै आएको छ ।