बुधबार २४ मंसिर, २०८२

सिमेन्ट निर्यातमा उछाल : ४ महिनामै ९८ करोडको भारततर्फ निर्यात

सिमेन्ट निर्यातमा उछाल : ४ महिनामै ९८ करोडको भारततर्फ निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा सिमेन्ट निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार यस अवधिमा सिमेन्टको निर्यात गत वर्षको तुलनामा ११० प्रतिशतले वृद्धि भएको छ।

विभागका तथ्यांकअनुसार यस अवधिमा कुल ९८ करोड ७ लाख रुपैयाँ मूल्य बराबर ५ लाख ६५ हजार ८५४ टन सिमेन्ट नेपालबाट निर्यात भएको छ।

गत वर्षको सोही अवधिमा ६६ करोड ५८ लाख रुपैयाँ मूल्य बराबर २ लाख ६४ हजार ७०५ टन सिमेन्ट निर्यात भएको थियो। यसरी निर्यात बस्तुको आधारमा ११० प्रतिशत र मूल्यको आधारमा ४७ प्रतिशत वृद्धि भएको देखिन्छ।

चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म १ लाख २१ हजार ३८८ टन क्लिङ्कर र ४ लाख ४४ हजार ४६६ टन पोर्टल्याण्ड सिमेन्ट भारतमा निर्यात भएको तथ्यांकमा उल्लेख छ।

सिमेन्ट व्यवसायीहरूले यस वृद्धिलाई सकारात्मक संकेतको रूपमा लिएका छन्। गत वर्ष भारतले नेपालबाट सिमेन्ट तथा अन्य बस्तुहरूको गुणस्तर प्रमाणीकरणमा रोक लगाउँदा निर्यातमा कमी आएको थियो। प्रमाणीकरण फेरि जारी भएपछि निर्यातमा उल्लेखनीय वृद्धि भएको हो।

एक सिमेन्ट उद्योगीले भने, “यदि गत वर्ष गुणस्तर प्रमाणीकरण जारी भएको भए, अहिलेको निर्यात स्तर पहिल्यै हासिल भएको हुन्थ्यो।” साथै, विद्युत बक्यौताको समस्याका कारण केही उद्योगमा लाइन काटिनु र उत्पादन घट्नुले निर्यातमा पनि असर परेको उनले बताए। उनले यसलाई “देशका लागि दुर्भाग्यपूर्ण अवस्था” भनेका छन्।