सेज भाडादर घट्यो ७५ प्रतिशत
काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) को भाडादरमा ठूलो परिमाणमा कटौती गर्दै प्रतिवर्गमिटर २० रुपैयाँ रहेको भाडा पाँच रुपैयाँमा झारेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेज सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै नयाँ भाडादर लागू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
लामो समयदेखि सेजको महँगो भाडादरबारे व्यवसायीले उठाउँदै आएका मागअनुसार सरकारले भाडा घटाउने निर्णय लिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेले भाडा कटौतीले दीर्घकालीन रूपमा लगानी–मैत्री वातावरण निर्माण हुने बताए। ‘‘सरकार आम्दानी होइन, लगानी प्रबर्द्धनमा केन्द्रित छ भन्ने सन्देश दिन खोजिएको हो,’’ उनले भने।
उनका अनुसार पछिल्लो समय नीतिगत सुधारका कारण सिमरा र भैरहवा सेजप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। पहिले भाडा तोक्ने अधिकार सञ्चालक समितिलाई रहेकाले यस पटक पुरानो कार्यविधि नै खारेज गरी नयाँ दर तोकिएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमै भाडा कटौतीको घोषणा गरेको थियो। बजेटले सेज तथा औद्योगिक क्षेत्रमा स्थापना हुने नयाँ उद्योगलाई पहिलो तीन वर्ष भाडा छुट दिने व्यवस्था गरेको छ। साथै, औद्योगिक क्षेत्रका ती उद्योगहरूले उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे सेज उद्योग सरह सुविधा पाउने व्यवस्था पनि गरिएको छ।
उद्योग मन्त्री अनिल कुमार सिन्हाले कार्यभार सम्हालेसँगै सेजभित्रका सेवाको प्रभावकारिता वृद्धि गर्ने लक्ष्यसहित भाडा कटौती मंसिरभित्रै कार्यान्वयन गर्ने घोषणा गरेका थिए।
विशेष आर्थिक क्षेत्र प्राधिकरण १० माघ २०६० मा स्थापना भएको हो। २०६९ मा सेज गठन आदेश जारी भएपछि कार्यान्वयनको बाटो खुलेको थियो। हाल सिमरा र भैरहवा सेज सञ्चालनमा छन्, जहाँ उद्योगका लागि कर तथा नियमहरू तुलनात्मक रूपमा उदार छन्।
सेजमा पहिलो पाँच वर्ष १०० प्रतिशत आयकर छुट, लाभांशमा पनि पाँच वर्षसम्म पूर्ण छुट, निर्यातमा शून्य प्रतिशत भ्याट, हड्ताल तथा श्रमिक संघ–संगठन निषेधजस्ता विशेष सुविधा प्रदान गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा भैरहवा सेजबाट ३ अर्ब १५ करोड रुपैयाँ बराबरको निर्यात बिक्री र १ अर्ब ७३ करोड बराबरको आन्तरिक बिक्री भएको प्राधिकरणले जनाएको छ। सिमरा सेजमा १ करोड बराबरको निर्यात र ९३ करोड बराबरको आन्तरिक बिक्री भएको थियो। दुवै सेजबाट मिलेर ५ अर्ब ८२ करोड बराबरको वस्तु बिक्री भएको छ।
हाल सिमरा र भैरहवामा एक–एक दर्जन उद्योग सञ्चालन तथा निर्माणाधीन अवस्थामा छन् भने पाँच अन्य सेज निर्माणमा छन्।
