मधेश प्रदेश सरकारले बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने, किसानलाई राहत वितरण गरिने
काठमाडौं । मधेश प्रदेश सरकारले किसान र युवा लक्षित विभिन्न कार्यक्रमहरू ल्याउने तयारी भएको जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान पत्रकार सम्मेलन गरी किसान तथा युवामैत्री कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले १८–३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने कार्यक्रम ल्याउने तयारी भएको हो ।
त्यसैगरी, सरकारले प्राकृतिक विपद्को कारण बालीनालीमा क्षति भएका किसानलाई प्रतिकठ्ठा १५ सयका दरले राहत वितरण गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ । सरकारले यससँगै जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन अतिथि सत्कार तथा व्यवस्थापन समिति ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री लखन दासको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए ।
यस्तै, मल आपूर्ति तथा वितरणमा देखिएको समस्या र कालोबजारी नियन्त्रणका लागि आठै जिल्लामा कडा अनुगमन गर्ने निर्णय पनि गरिएको छ । ९० दिनभित्र मल नबिक्ने सहकारी तथा विक्रेताको कोटा खारेज गरी अन्यलाई दिने व्यवस्था गरिनेछ । यी कार्यक्रमहरू आफ्नो सरकारले निरन्तरता पाएको खण्डमा गर्ने मुख्यमन्त्री यादवले जानकारी दिए ।
सरकारको विषयमा भोलि बिहीबार हुने अन्तरिम सुनुवाइ आफ्नो पक्षमा आउने उनले विश्वास गरे । अदालतको फैसला आफ्नो पक्षमा आएमा सहज रुपमा विश्वासको मत पाउने उनले दाबी छ । नेपाली कांग्रेस र जनमत पार्टीसहितसँग सरकारको विषयमा कुराकानी भइरहेको समेत उनले खुलाए ।
आफ्नो नेतृत्वमा सरकार संवैधानिक बाध्यतावश निर्माण भएको र यो सरकारलाई विश्वासको मत नदिए प्रदेश प्रदेशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने उनले चेतावनी दिए ।
