३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी : सबैभन्दा धेरै तिर्नेमा सलिको र शिखर
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कंपनिहरूले गरेको दाबी भुक्तानी उल्लेख्य रूपमा बढेको छ।
तीन महिनाको अवधिमा १४ निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब ६९ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्, जुन गत वर्षको सोही अवधिको ४ अर्ब २४ करोड ११ लाख रुपैयाँको तुलनामा ३४.१९ प्रतिशतले बढी हो।
यस वर्ष भदौ २४ मा भएको जेनजी आन्दोलनका कारण सरकारी तथा निजी संरचना, होटल व्यवसाय, आवासीय भवन र सवारीसाधनमा पुगेको व्यापक क्षतिले दाबी भुक्तानीमा ठूलो प्रभाव पारेको देखिन्छ।
त्यस्तै असोज १९ र २० गते देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले पनि भौतिक संरचनामा ठूला क्षति पुर्याएपछि बीमा दाबीमा थप वृद्धि भएको बीमा क्षेत्रले जनाएको छ।
दाबी भुक्तानीको परिमाण हेर्ने हो भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) १ अर्ब ८ करोड १६ लाख रुपैयाँसहित सबैभन्दा अगाडि रहेको छ। यसपछि शिखर इन्स्योरेन्सले ६८ करोड २ लाख, एनएलजी इन्स्योरेन्सले ६४ करोड २३ लाख, सिद्धार्थ प्रिमियरले ५४ करोड ६० लाख र नेको इन्स्योरेन्सले ५२ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
यस्तै आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी, युनाइटेड अजोड, हिमालयन एभरेष्ट, ओरियन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले पनि क्रमशः उल्लेख्य परिमाणमा दाबी भुक्तानी गरेका छन्।
वृद्धिदरका आधारमा हेर्दा सलिकोले १४०.७९ प्रतिशत वृद्धि गरेको छ भने सानिमा जीआईसीले १२४.६६ प्रतिशत, एनएलजीले ८१.०७ प्रतिशत, नेकोले ६५.१० प्रतिशत, नेपाल इन्स्योरेन्सले ३६.५९ प्रतिशत, हिमालयन एभरेष्टले ३५.०६ प्रतिशत, सिद्धार्थ प्रिमियरले २९.६९ प्रतिशत, ओरियन्टलले २३.८३ प्रतिशत, प्रभुले १३.५८ प्रतिशत र शिखरले ५.५६ प्रतिशत दाबी भुक्तानी वृद्धि गरेका छन्।
चार बीमा कम्पनीमा भने दाबी भुक्तानीमा गिरावट देखिएको छ। युनाइटेड अजोडमा ३.६१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीमा ५.८१ प्रतिशत, नेशनल इन्स्योरेन्समा ८.४५ प्रतिशत र आईजीआई प्रुडेन्सियलमा २८.२० प्रतिशत दाबी भुक्तानी कम भएको छ।
