कन्काई पुल : १४ वर्षको ढिलाइपछि ठेक्का रद्द, १.७१ करोड जमानत जफत
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र परेको झापाको कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो पुल निर्माणका लागि पप्पु–महादेव–खिम्ती (जेभी)सँग भएको ठेक्का निर्देशनालयले रद्द गरेको हो।
योजना कार्यालय इटहरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता रद्द गरिएको र निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत हुने जनाएको छ।
२०७२ भित्र निर्माण सम्पन्न गर्ने सम्झौतासँगै पाँचपटक म्याद थपिए पनि प्रगति ५६ प्रतिशतमा सीमित छ। सार्वजनिक खरिद ऐन अनुसार चित्तबुझ्दो स्पष्टीकरण नआएको, अद्यावधिक कार्ययोजना नदिएको र काम सुचारु गर्ने तत्परता नदेखिएकाले ठेक्का तोडिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।
कार्यालयले १५ दिनभित्र बाँकी कामको नापजाँच र वित्तीय मिलानका लागि उपस्थित हुन व्यवसायीलाई आग्रह गरेको छ। उपस्थित नभएमा कार्यालयले स्वयं नापजाँच गर्नेछ।
ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले असोज २६ मा स्थल निरीक्षण गर्दै अलपत्र आयोजना तत्काल निर्णयमा लैजाने बताउनुभएको थियो। स्थानीयले पुल नहुँदा दैनिक आवतजावत, व्यापार–व्यवसाय र पर्यटनमा ठूलो असर परिरहेको गुनासो गरेका थिए।
कुल १९ स्पानमध्ये ८ वटाको काम सकिएको छ। बाँकी ११ मध्ये २ वटामा गर्डर राखिएको, ६ वटाको जग निर्माण सम्पन्न भएको र ३ वटाको जग हाल बाँकी रहेको छ।
