व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो
काठमाडौँ । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ ।
त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको तथ्याङ्क अनुसार उत्साहजनक सुधार देखिएको छ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ५१ हजार ३७७ जना नयाँ करदाताले व्यावसायिक पान लिएका थिए भने आव २०८१/८२ मा १ लाख १८ हजार १३८ जना थपिएका छन्।
त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या झन् ठुलो छ । हालसम्म ४९ लाख २० हजार ३८९ जनाले व्यक्तिगत पान लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ६ लाख १७ हजार ५३२ जनाले व्यक्तिगत पान लिएकोमा आव २०८१/८२ मा यो संख्या बढेर ६ लाख ५३ हजार २४३ पुगेको छ ।
