सोमबार २२ मंसिर, २०८२

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन, बिक्री वितरणमा रोक

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन,  बिक्री वितरणमा रोक

काठमाडौं । औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नम्बर २७२३ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय औषधी प्रयोगशालामा गरिएको परिक्षणमा सो ब्याचको औषधी न्युन गुणस्तरको पाइएपछि विभागले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो । 

गुणस्तरहीन औषधीको उत्पादन मिति सन् २०२३ जुन र म्याद सकिने मिति सन् २०२६ मे रहेको छ । अर्थात्, म्याद गुज्रन अब करिब ५ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाई वर्षदेखि निर्वाध रुपमा बिक्रि–वितरण हुँदै आएको थिययो ।

औषधी ऐनको दफा १२ ले हरेक औषधी सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ र गुणस्तरहीन ठहरिएमा उत्पादक आफैंले फिर्ता लिनुपर्ने हुन्छ ।

परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण गुणस्तरहीन औषधि लामो समयसम्म बजारमा रहने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पुग्न सक्ने प्रश्न स्वास्थ्य क्षेत्रका जानकारहरूले उठाउँदै आएका छन् ।

स्वास्थ्य विज्ञहरूका बजारमा प्रयोगशालाले पहिचान गरेभन्दा धेरै गुणस्तरहीन तथा दुरुपयोग भएका औषधि रहेको र यसले गम्भीर साइड इफेक्ट निम्त्याउने विज्ञ बताउँछन् ।

विभागले यसअघि पनि विभिन्न कम्पनीका दर्जनौं ब्याचका औषधिहरू रिकल गरिसकेको छ, तर उपभोक्ता तथा स्वास्थ्यकर्मीहरूले परीक्षण प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाउनुपर्ने माग निरन्तर दोहोर्‍याउँदै आएका छन् ।