सोमबार २२ मंसिर, २०८२

राजस्व संकलनमा असन्तुलन, आयकरको योगदान झन् घट्दै

राजस्व संकलनमा असन्तुलन, आयकरको योगदान झन् घट्दै

काठमाडौं । ब्याजदर कम हुँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिन थालेको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिले कुल राजस्वमा आयकरको योगदान घट्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा आयकरको हिस्सा २ प्रतिशत विन्दुले ओरालो लागेको छ । कुल राजस्वमा यस वर्ष पहिलो त्रैमासमा आयकरले १८.८ प्रतिशत योगदान गर्छ ।

गत आव २०८१/८२ को पहिलो त्रैमासमा कुल राजस्व संकलनमा आयकरको योगदान २०.८ प्रतिशत थियो । यसबाहेक गैरकर राजस्वको योगदान समेत ५.६ प्रतिशत विन्दुले घटेको देखिन्छ । कुल राजस्वमा गैरकरको योगदान ५.९ प्रतिशत रहेको छ । गत वर्ष यस्तो योगदान ११.५ प्रतिशत थियो ।

अर्थ मन्त्रालयका अनुसार कुल राजस्वमा सबैभन्दा धेरै योगदान भने मूल्य अभिवृद्धि करको रहेको छ । यो करको योगदान ३२.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष मूल्य अभिवृद्धि करको  योगदान ३०.२ प्रतिशत थियो । दोस्रो स्थानमा भन्सार महसुल रहेको छ ।

यस वर्ष भन्सार महसुलले २२.८ प्रतिशत योगदान गरेको छ । गत वर्ष भन्सारको हिस्सा २०.९ प्रतिशत थियो । तेस्रो स्थानमा अन्तशुल्क छ । जुन १९.२ प्रतिशत देखिन्छ ।

गत आवमा अन्तशुल्कको योगदान १६.१ प्रतिशत मात्र थियो । चौथो स्थानमा आयकर छ । पाँचौ स्थानमा गैरकर र छैठौं स्थानमा शिक्षा सेवा शुल्क छ ।

मन्त्रालयका अनुसार पहिलो तीन महिनामा आयकर शीर्षक र यसअन्तर्गत ब्याजकर उपशीर्षकमा संकलन घटेको देखिन्छ । असोजसम्म सरकारले राजस्व, गैरकर र अन्य प्राप्तिबाट ३ खर्ब २१ अर्बको लक्ष्य राखेकोमा २ खर्ब ५१ अर्ब १८ करोड संकलन गरेको छ । जुन लक्ष्यको ७८.१ प्रतिशत हो ।