बेमौसमी वर्षाले धानबालीमा साढे २ अर्ब बढीको नोक्सानी
काठमाडौं । १५ देखि १७ कात्तिकसम्म परेको बेमौसमी वर्षाले देशभरको धानबालीमा ठूलो क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले जनाएको छ।
वर्षाका कारण देशभर २० हजार १ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेती प्रत्यक्ष प्रभावित भएको छ। यसका कारण करिब ७५ हजार ६७४ टन धान उत्पादन घट्ने अनुमान छ, जसले मुलुकलाई २ अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्याएको प्रतिवेदनमा उल्लेख छ।
जिल्लागत विवरणमा झापा सबैभन्दा बढी प्रभावित भएको देखिन्छ, जहाँ ४ हजार ३६४ हेक्टर क्षेत्रफलमा धानबाली क्षतिग्रस्त भएको छ। बर्दियामा भने तुलनात्मक रूपमा न्यून क्षति भएको छ, जहाँ केवल ५ हेक्टर धान खेतीमा मात्र असर परेको छ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी धानबाली नोक्सान भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र संखुवासभासहित १४ जिल्लामा १२ हजार ४३२ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। यसबाट ५६ हजार २६७ टन उत्पादन घट्ने र २ अर्बभन्दा बढी आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
मधेश प्रदेशका आठ जिल्लामा ४१६ हेक्टर धानबालीमा क्षति पुगेको छ, जसले १ हजार २९७ टन उत्पादन घट्ने देखाएको छ। बागमती प्रदेशमा १० जिल्लामा ६ हजार ६६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ र १३ हजार ७३० टन उत्पादन कम भएको छ। गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १११ हेक्टर धानबाली क्षतिग्रस्त भएको छ भने लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५९६ हेक्टर क्षेत्रफल प्रभावित भएको मन्त्रालयको प्रतिवेदनले जनाएको छ।
