‘टुनामुना’ लगाएको आरोपमा सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि समेत हुन । धामीझाँक्री उनको पार्टटाइम काम जस्तै थियो ।
गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका बेला उनको गोली हानी हत्या भयो । करिब २ महिना लामो अनुसन्धानपछि चौधरीको हत्या योजनाबद्ध रुपमा भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । मुख्य योजनाकारसहित तीन जना अझै फरार छन् ।
प्रहरीका अनुसार सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजु भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र सोही पालिकाको वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका हुन् ।
राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनीहरु हत्याको सुपारी दिने मध्येका भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा हत्याको मुख्य कारण तन्त्रमन्त्र र टुनामुना नै देखिएको प्रहरीले बताएको छ ।
चौधरीले टुनामुना गरेर आफ्नो घरपरिवारको सदस्यलाई दुःख दिएको भन्दै राजकिशोरसहितको समूहले हत्या योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिएका छन ।
उनका अनुसार चौधरीको हत्याका लागि सुटरलाई ३ लाख रुपैयाँ एडभान्स दिएको पाइएको छ । घटनापछि थप साढे ३ लाख दिने सहमति थियो । घटनामा अन्य व्यक्ति पनि जोडिएका कारण थप विवरण खुल्न बाँकी रहेको उनले जानकारी दिए ।
