सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर
काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताएका छन् । सोमबार १७ औँ राष्ट्रिय मानवअधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मगरले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताए । उनले जेन–जी मुभमेण्टले नेपालमा नयाँ आयाम थपेको बताए ।
भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने उनकाे भनाइ थियाे ।
उनले भने, ‘जेनजी मुभमेण्टको कुराहरु पनि छ । यसमा पनि हो । जेनजी मुभमेण्टले एउटा नयाँ आयाम थपेको छ । एउटा शिक्षा यहाँबाट लिनुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ । भ्रष्टाचार निर्मूल हुनसक्छ, सक्दैन ? त्यो आफ्नो ठाउँम होला । भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । सुशासन नभएसम्म, सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचार मौलाए बेथिति हुन्छ । बेथिति भए मानव अधिकार ओझेलमा पर्दछ । सुशासन कायम गर्न सक्नुपर्छ ।’
अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताए ।
–न्युज एजेन्सी नेपाल
