सोमबार २२ मंसिर, २०८२

वनमा ‘आगलागी नियन्त्रण’को नाममा भ्रष्टाचार, अख्तियारले चलायो मुद्दा

वनमा ‘आगलागी नियन्त्रण’को नाममा भ्रष्टाचार, अख्तियारले चलायो मुद्दा

काठमाडौं । काम नै नगरी नक्कली बिल भरपाई बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा जाजरकोटको एक सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित ‘चुली डडमेला सामुदायिक वन उपभोक्ता समूह’ का तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगले अनुसन्धानका क्रममा पदाधिकारीहरूले वनको रकम निकासा गरी आफूखुसी चलाएको र त्यसलाई छोप्न विभिन्न नक्कली शीर्षक खडा गरेको पाइएको जनाएको छ । 

आर्थिक वर्ष २०७२/७३ र ७३/७४ को लेखापरीक्षण खर्च जम्मा १० हजार रुपैयाँ लागेकोमा १ लाख ४० हजार रुपैयाँ निकासा गरी १ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाइ छ । 

यसैगरी वन समूहको निर्णय पुस्तिकामा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको देखाइएको तर अख्तियारको टोलीले स्थलगत निरीक्षण गर्दा सो काम नै नभएको पाइएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । 

यसैगरी वनमा आगलागी नियन्त्रणका लागि ५२ जना खटिएको भन्दै २ लाख ३७ हजार ५०० रुपैयाँको नक्कली भरपाई बनाएर खाएको तथा वन हेरालु नै नराखी ९० हजार रुपैयाँ तलब बापत खर्च देखाएको पनि अख्तिायारको अनुसन्धानबाट खुलेको छ । 

यो प्रकरणमा अख्तियारले वन समूहका तत्कालीन अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी राना विरुद्ध ९ लाख ६५ हजार ८७३ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग गरेको छ।

यस्तै, तत्कालीन सचिव रामकुमारी राना विरुद्ध ८ लाख ४० हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ।

घटनामा दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेको समेत मिलेमतो देखिएको भन्दै अख्तियारले उनीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरेको छ ।