सेबोन कर्मचारी असन्तुष्ट : माग पूरा नभए काम ठप्पको तयारी, अर्थले चासो नदिएको आरोप
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले माग पूरा गर्न दिएको डेडलाइन सकिएपनि अर्थ मन्त्रालयको तर्फबाट तीन साताभन्दा बढी समयसम्म कुनै ठोस पहल देखिएको छैन। यसले कर्मचारीहरूमा निराशा बढाएको छ र उनीहरू फेरि पेनडाउन गरेर आन्दोलनमा उत्रन तयार भएका छन्।
सेबोन कर्मचारीहरूले गत कात्तिक २४ गतेदेखि आन्दोलन स्थगित गरेका थिए, जब अर्थ मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएको थियो। सञ्चालक समितिले कर्मचारीको माग सम्बोधन गर्न मन्त्रालयलाई पत्र पठाउने सहमति गरेका थिए। कर्मचारीहरूले कात्तिक मसान्तसम्म माग पूरा नभए फेरि काम ठप्प पार्ने चेतावनी दिएका थिए।
तर, सञ्चालक समितिले ढिला पत्र पठाएको र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्था तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव महेश आचार्य मंसिरको पहिलो हप्ता देशबाहिर रहेका कारण प्रक्रिया अगाडि बढ्न सकेन। आचार्य ७ गते फर्किएपछि कर्मचारीहरूले मन्त्रालयमा गएर मागबारे छलफल गरेका थिए।
सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले भने, “उहाँले प्रक्रिया अगाडि बढाउने बताउनुभएको थियो। तर, तीन हप्ता बित्दा पनि कुनै प्रगति देखिएको छैन। हामीले डेडलाइन सकिएपछि थप एक हप्ता कुर्ने निर्णय गरेका थियौं।”
ढुंगानाले कर्मचारीहरू चुप लागेर बस्न नसक्ने अवस्था आएको र आन्दोलनमा फर्किनुपर्ने अवस्था सृजना भएको बताए। हाल सेबोनका कर्मचारीहरू दैनिक एक घन्टाको धर्ना जारी राखिरहेका छन्, र आज ७७ औँ दिन पनि धर्ना कार्यक्रम निरन्तर भइरहेको छ।
कर्मचारीहरूले असोज ७ गतेदेखि पेनडाउन कार्यक्रम सुरु गरेका थिए। उनीहरू अर्थ मन्त्रालयको भदौ ३१ को निर्णय र असोज २ को पत्र अनुसार, सेवासुविधासम्बन्धी कार्यविधि खारेज गर्न, विगतमा प्राप्त सेवासुविधा फिर्ता गर्न, र आर्थिक दायित्व सिर्जना गर्ने विषयमा मन्त्रालयको सहमति अनिवार्य रुपमा लिनुपर्ने विषयसँग असहमत छन्।
