जेन-जी आन्दोलनमा विध्वंस मच्चाउनेमाथि कारबाही हुन्छ : अर्थमन्त्री
कैलाली । सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनमा विध्वंसकारी अथवा गलत गतिविधि गर्नेहरूमाथि कारबाही हुने बताएका छन् । सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन अनुगमन गर्दै उनले छानबिन समितिको रिपोर्टपछि जेनजी आन्दोलनमा विषयमा भएको क्षतिहरूबारे प्रस्ट भन्न सकिने बताएका थिए ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आगजनी तोडफोड भएको थियो । क्षतिग्रस्त भवनको कार्यालयमा अनुगमनमा क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिले यस विषयमा अहिल्यै धेरै बोल्न उपयुक्त नहुने बताएका थिए ।
‘मैले अहिले बोल्ने उपयुक्त हुँदैन । पहिलो कुरा त यसको छानबिन भइरहेको छ । उच्चस्तरीय छानबिन समितिले रिपोर्ट दिनुप¥यो । त्यहाँ कति राजनीतिक आन्दोलनकारी हुन् कति विध्वंसकारी अथवा गलत गतिविधि गर्नाको लागि हो मलाई छुट्टाउने अधिकार छैन नि । त्यो समितिको प्रतिवेदन आउनुपर्छ ’ उनले भने, ‘निश्चित रूपमा स्थानीय प्रशासन ऐन बमोजिम कसैले त्यस्तो गलत गतिविधि गरेको रहेछ भने कानुनी कारबाही हुन्छ ।’
उनले देशैभरी पुनर्निर्माणको काम अघि बढिरहेको बताएका थिए । मुलुकभरी ध्वस्त भएका सरकारी कार्यालयहरू पुर्न निर्माणमा सरकार लागिरहेको समेत उनको भनाइ थियो ।
‘प्रदेश सरकारले खर्चको मूल्याङ्कन गरिरहेको छ । त्यसमा केहीगरि रकमको अभाव भएको अवस्थामा सङ्घीय सरकारले पुनर्निर्माणको आर्थिक सहयोग गर्छ’ उनले भने ‘कतिपय कार्यालयहरूको काम नै सुरु भइसकेको छ । केहीमा पुनर्निर्माण जारी छ । ’
तीन वर्षभित्र सबै पुनर्निर्माण पुरा भइसक्ने उनको दाबी थियो । सरकारको पहिलो प्राथमिकता निर्वाचन रहेको भन्दै अर्थमन्त्री खनालले स्वच्छ, भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।
आजबाट सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न मन्त्री खनाल धनगढी पुगेका थिए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटवार्ता समेत गरे । भेटमा सभामुख भीम भण्डारी, आर्थिक मामिला मन्त्री बहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा लगायत सहभागी थिए ।
