नीतिगत सहजता भए पनि नेप्सेमा गिरावट, राजनीतिक अनिश्चितताले दबाब
काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।
गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । केही नीतिगत सहजताका बाबजुत पनि राजनीतिक अस्थिरता, चुनावको अनिश्चितताजस्ता प्रमुख कारण लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।
आज ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रह्यो । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा खुम्चियो ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रया देखिएको छ । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।
त्यस्तै इङ्वा हाइड्रोपावरको ९.०३ तथा पियोर इनर्जीको ४.४ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ५.१६, मेन्छियाम हाइड्रोपावरको ३.७३, गुहेश्वरी मर्चेन्ट बैंकको ३.६८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, सागर डिस्टिलरी, पियोर इनर्जी, राधि विद्युत् र झापा इनर्जी छन् ।
