बुधबार २४ मंसिर, २०८२

यातायात व्यवस्था विभागले सच्यायो उपत्यकाभित्र प्रदेशबाट जारी रुट परमिट

यातायात व्यवस्था विभागले सच्यायो उपत्यकाभित्र प्रदेशबाट जारी रुट परमिट

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनका हकमा प्रदेश सरकारबाट जारी रुट परमिट संघीय सरकारले सच्याएको छ ।

यातायात व्यवस्था विभागले सबै प्रदेश सरकारलाई पत्र लेख्दै अन्तरप्रदेश जाँचपास तथा रुट इजाजतपत्र जारी गर्ने जिम्मेवारी संघीय सरकारको हुने स्पष्ट पारेको छ ।

सोही बमोजिम प्रदेश यातायात व्यवस्था कार्यालयबाट काठमाडौं उपत्यकाका हकमा जारी इजाजत समेत संघले तोके बमोजिम हुने स्पष्ट पारेको छ ।

यस अनुसार अब काठमाडौं उपत्यका बाहिरबाट प्रवेश गर्ने सार्वजनिक सवारीले कलंकी–सीतापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउने भएका छन् ।

काठमाडौं उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारीले कलंकी–सातदोबाटो–कोटेश्वर हुँदै बनेपासम्म आउन र जान सक्ने छन् ।

प्रदेश यातायात व्यवस्था कार्यालयहरूले नियमानुसार कायम भएका प्रदेशभित्रका बाटोमा मात्र रुट इजाजत जारी गर्न पाउने समेत विभागले स्पष्ट पारेको छ ।

अन्तर प्रदेशीय रूपमा सञ्चालन हुने सवारीका हकमा भने यातायात व्यवस्था विभाग अन्तर्गतका सवारी परीक्षण कार्यालयहरूले मात्र रुट इजाजत जारी गर्न पाउने समेत विभागले स्पष्ट पारेको छ ।

स्थानीय बाटोमा सञ्चालन हुने स्थानीय सार्वजनिक यातायातको सवारीको बाटो इजाजत जारी गर्दा प्रदेश र स्थानीय तहबीच समन्वय गरिनुपर्ने समेत विभागले जनाएको छ ।

यी व्यवस्था प्रतिकूल हुने गरी यसअघि बाटो इजाजत जारी गरेको भए त्योसमेत सच्याउन विभागले सबै प्रदेश सरकारलाई पत्र लेखेको छ ।

विभागका अनुसार कतिपय यातायात कार्यालयले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रुट इजाजतपत्र जारी गर्दा काठमाडौं उपत्यकामा व्यापक ट्राफिक जाम समस्या देखिएको विभागको भनाइ छ ।

साना सवारी चल्न सक्ने कम चौडाइका बाटोमा समेत बढी सिट भएका सवारीलाई बाटो इजाजत दिँदा दुर्घटना बढेको समेत विभागले जनाएको छ ।

अब यातायात व्यवस्था कार्यालयबाट थप इजाजत जारी गर्दा सोही अनुसार गर्न संघीय सरकारले सचेत गराएको छ ।

उता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समेत काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाइ यातायात सहज बनाउन लामो दुरीका रात्रि तथा दिवा सेवाका गाडीलाई अनिवार्य नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने गरी कडाइ थालेको छ ।

लामो दुरीका सवारीले स्थानीय रुटमा चल्ने सवारीले जस्तै गरी अब जथाभावी बस रोक्दै यात्रु झार्न र चढाउन पाउने छैनन् । यस्तो गतिविधिले पिक आवरमा राजधानीका सडकमा जाम बढेको ट्राफिक कार्यालयको निष्कर्ष छ ।

यसअघि कार्यालयले लामो द्ुरीका गाडीलाई दिइएको रुट परमिट पुनरावलोकन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको थियो ।

काठमाडौ उपत्यकाको सडकमा जाम हुँदा नागरिकको दैनिकीमा असर परेको छ । यो विषयलाई  गम्भीर लिनसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको थियो ।

प्रहरीले रातो बत्ती उल्लंघन गर्ने, लेन क्रस गर्ने, तीव्र गतीमा सवारी चलाउने तथा मापसे गरेर सवारी चलाउनेलाई अनिवार्य सचेतना कक्षा दिने गरेको छ ।