बुधबार २४ मंसिर, २०८२

८९ करोड हिनामिना गरेका सञ्चालक थुनामुक्त गरी बचत फिर्ता पहल

८९ करोड हिनामिना गरेका सञ्चालक थुनामुक्त गरी बचत फिर्ता पहल

पोखरा । पोखरामा रहेका ७ सहकारीको ५ अर्ब रुपैयाँ हाराहारी हिनामिना भएको मुद्दा अदालत पुगेपछि ३५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

तीमध्ये पनि जेनजी आन्दोलन क्रममा २४ भदौमा कास्की कारागारबाट फरार करिब १० जना अझै फर्किएका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी पोखराकै हो । १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको भनिएको यो सहकारी मार्फत रविमाथि अनुसन्धान सुरु भएपछि पक्राउ परे पनि धरौटीमा छुटे । तर, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि पुर्पक्षका लागि कारागारमै छन् ।

पोखराको सूर्यदर्शन सहकारीकै ५ जना अहिले पनि पुर्पक्षका लागि कारागारमै छन् । पोखराका शिवशिखर, प्राइम, इमेज, विन्ध्यवासिनी, मित्रमिलन र संघर्षशील सहकारी अदालतसम्म पुगेको छ । अहिलेसम्म कुनै पनि सहकारीको समस्या समाधान हुन सकेको छैन भने ३ वर्र्षभन्दा लामो समयदेखि पीडित बचतकर्ताले रकम फिर्ताका लागि सडक संघर्षदेखि सरकारका पदाधिकारीदेखि न्यायालयसम्मको ढोका ढकढकाएका छन् । तर, समस्या सल्टिएको छैन ।

सहकारीका पदाधिकारी तथा सञ्चालक पुर्पक्षका लागि थुनामा जाने र पीडितले रकम फिर्ता पनि नपाउने समस्याले धेरै बचतकर्ताको जीवन नै संकटमा पर्न गएको छ । पछिल्लो पटक ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको सहकारी हो– पोखरा सहकारी ।

पोखरा सहकारीको रकम हिनामिनामा १९ कात्तिकमा अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित ८ सञ्चालक पक्राउ परे । उनीहरूमाथि अनुसन्धान जारी भएर अदालतमा मुद्दा दायर हुनुअघि नै प्रहरी, सरकारी वकिलको कार्यालय, सहकारी रजिस्ट्रारको कार्यालय, सहकारी सञ्चालक, सेयर सदस्य र ऋणीहरूको पहलमा पक्राउ परेका सबै जना हिरासतबाट छुटेका छन् ।

पोखराकै अन्य सहकारी पीडितले अहिले पनि रकम फिर्ताका लागि संघर्ष गरिरहेका बेला पोखरा सहकारीबाट सञ्चालकलाई हिरासत बाहिरै बसेर हिसाब मिलान गर्ने, पीडितले बचत फिर्ता पाउने अवसर पहिलो पटक पोखरामा भएको छ ।

सहकारी वकिलको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले बचतकर्ताले रकम फिर्ता पाउने र सहकारीको हिनामिना रकम मिलाउने पहल भएको हो ।

यसका निम्ति पक्राउ परेका सञ्चालकले हिनामिना रकम फिर्ताको ग्यारेन्टी गरेका छन् भने बचतकर्ताले त्यसका लागि सहजीकरण गरिदिएका छन् ।

सहकारी सञ्चालक पक्राउ परेर थुनामा जाने तर बचतकर्ताको रकम फिर्ता नहुने समस्या समाधान गर्न सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गरेर मिलापत्र गरी मुद्दा मिलाउन सकिने व्यवस्था टेकेर कास्कीमा यो पहिलो प्रयास भएको हो ।

बचतकर्ताको बचत रकम भुक्तानी दिन नसकेको वा बचत रकम हिनामिना गरेको वा सहकारी ठगी गरेको अभियोगमा दफा १३० बमोजिम मुद्दा दायर भएको र उक्त मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा पनि सदस्यको बचत रकम वा हिनामिना भएको बचत रकम फिर्ता गरेर मिलापत्र गराइ पाउँ भनी निवेदन दिए मिलापत्र हुन सक्ने व्यवस्था छ ।

थुनामा रहेकाले आफूहरूको जग्गा लगायत सम्पत्ति फुक्का गराएर बचत फिर्ता गर्ने मौका दिए सबैको बचत फिर्ता गर्ने दाबी अनुसार कास्की प्रहरीले समस्या समाधानमा नेतृत्व लिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्की बताउँछन् ।

अहिलेसम्म अदालत पुगेका सहकारी समस्या समाधान हुन नसकेर बल्झिरहेको अवस्थामा यो सहकारीको हिसाब मिल्ने ग्यारेन्टी कसरी भयो त ? पहिले पोखरा सहकारीको हिनामिनाबारे बुझौं ।

पोखरा–९ नयाँ बजारमा प्रधान कार्यालय रहेको सहकारीको रकम मिलाउन गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पटक–पटक समय दिएको थियो ।