कर्मचारीमा जनसेवाको भावना भन्दा समय कटाउने प्रवृत्ति छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । बुधबार प्रदेश योजना आयोगद्वारा वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
कँडेलले अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर रहेको र काम गर्ने पुरानै मानसिकताका कारण जनतामा निराशा छाएको बताए । उनले भने, ‘सरकार घोषणा हुँदैमा र मन्त्रीको गाडी गुड्दैमा मात्र कर्णालीको भलो हुँदैन । नतिजा देखिने गरी काम हुन नसक्दा निराशाजनक अवस्था छ ।’
विकास र प्रशासन सञ्चालनमा पुरानै संरचना र मानसिकता हाबी भएको उनको गुनासो छ । ‘सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ,’ उनले भने, ‘हामीसँग आवश्यक तहको जनशक्ति छैन, आएका जनशक्तिलाई पनि पूर्ण अधिकार र मान्यता दिइएको छैन ।’
मुख्यमन्त्रीले कर्मचारीतन्त्रको कार्यशैलीप्रति तीखो असन्तुष्टि व्यक्त गरे । कर्मचारीमा जनसेवाको भावना भन्दा पनि समय कटाउने, जोखिम नमोल्ने र निर्णय प्रक्रिया पन्छाउने प्रवृत्ति देखिएको उनले बताए ।
‘यहाँ ६ महिना वा दुई वर्ष बस्दा आफ्नो कार्यक्षमता देखाएर सेवामा समर्पित हुने मानसिकता मैले देखिनँ’ उनले भने ।
यसैगरी कानुनी जटिलताले पनि कार्यसम्पादनमा असर पुर्याएको उनको भनाइ छ । संविधान बनेको लामो समय बितिसक्दा पनि नयाँ कानुन नबन्नु र २०१३ देखि २०२९ सालसम्मका पुराना ऐनहरूबाट निर्देशित हुनुपर्ने बाध्यताले नयाँ संरचना अनुसारको काममा बाधा पुगेको उनले उल्लेख गरे ।
साथै, योजना छनोट प्रक्रियामा विज्ञता भन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोत साधन छरिएको र प्रतिफल आउन नसकेको उनले औँल्याए ।
मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने भन्दै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए । तमाम चुनौतीका बिच पनि सरकारका कामलाई नतिजामुखी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए ।
