बुधबार २४ मंसिर, २०८२

बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम

बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम

काठमाडौं । नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ ।

समितिकै पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारुकी ७ वर्षिया छोरी अनिता थारुको जन्म दर्ता र बुबा (कान्छा थारु, ६१) को मृत्यु दर्ता गराइएको छ ।

समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालले घटनास्थलमा पुगेर बुझ्दा मुख्य समस्या अञ्जुको छोरीको जन्म दर्ता र उनका बुबाको मृत्यु दर्ता नभएको भन्ने थाहा पाएपछि त्यसलाई समाधान गरिएको बताए ।

‘हामीले आज वडा कार्यालयमै पुगेर अञ्जु को बुवाको मृत्यु दर्ता र उनको छोरीको जन्म दर्ता (अञ्जु‍को श्रीमान अनिलको नामबाट) जन्म दर्ता गरिएको छ,’ समिति सदस्य अर्यालले भने ।

‘आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेर समग्र बस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्म दर्ता र अञ्जु की बुवाको मृत्यु दर्ता गर्ने प्रक्रिया सम्पन्न गर्‍यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउने छौं,’ अर्यालले भने ।

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ ।

बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् ।

गृह मन्त्रालयको मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ।