शुक्रबार २६ मंसिर, २०८२

ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने : भागेर होइन, छोरीको उपचारका लागि अमेरिका आएको !

ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने : भागेर होइन, छोरीको उपचारका लागि अमेरिका आएको !

काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू भागेर अमेरिका नआएको बताएका छन् । शुक्रबार बिहान फेसबुकमा लामो ‘बकपत्र’ शीर्षकको स्टाटस लेख्दै उनले अमेरिका भागेको भन्ने कतिपय मिडिया विवरणको खण्डन प्रयास गरेका छन् ।

दुई वर्षअघि नै आफूले एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले यतिबेला भने छोरीको खुट्टाको उपचारका लागि अमेरिका आएको दाबी गरेका छन् ।

लेख्छन्, ‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो ।’

‘यो कार्ड आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निशुल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स/मेडिकेडमार्फत’ उनी भन्छन्, ‘यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।’

‘आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् ।’

‘छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु’ उनले लेखेका छन्, ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं ।’

‘रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस’ उनले लेखेका छन् ।

अमेरिका आफूहरुले कुनै व्यवसाय सुरु नगरेको र लगानी पनि नगरेको दाबी उनको छ । उनले रंगशालाको समस्याबाट मुक्ति दिलाएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताएका छन् ।

उनले विमानस्थलमा खिचिएका पत्नी तथा अभिनेत्री कुञ्जना घिमिरे सुन्तली र छोरीसहितको फोटो पनि सेयर गरेका छन् । निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उनको भनाइ छ ।

जनताको आग्रह र तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित सबै नेताहरूको प्रोत्साहनमा रंगशाला निर्माणमा जुटेको बताउँदै उनले भरतपुर महानगरपालिकाले अगुवाइ लिन अनुरोध गरी जग्गासमेत उपलब्ध गराएको र महानगरसँग भएको सहमतिपत्रमा स्रोत जुट्न नसके दायित्व दुवै पक्षको रहने बताएका छन् ।

उनले राज्यले सम्पत्ति सकार्न मिल्ने तर दायित्व सकार्न नमिल्ने अवस्थालाई ’विडम्बना’ भनेका छन् । रंगशालाको काममा अख्तियारसम्मबाट ’क्लिन चिट’ पाएर पनि आफूलाई ’ठग’ को संज्ञा दिइएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

उनले महानगरलाई स्वामित्व हस्तान्तरण गर्दा दायित्व एक महिनाभित्र फरफारक गर्ने प्रतिबद्धता जनाइएको भए पनि त्यो पूरा नभएको बताएका छन् । केन्द्र सरकारबाट पटकपटक मन्त्रिपरिषद्ले निर्णय गरेर उपलब्ध गराउने भनिएको अनुदान र बजेटमा राखिएको रकम समेत प्रक्रियागत त्रुटि र सरकारी निकायको टालटुले नीतिका कारण पटकपटक फ्रिज भएर फिर्ता गएको उनले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार, धुर्मुस र सुन्तली अहिले अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गर्दै आएका उनका भाइ नाता पर्नेको घरमा छन् । कामको कुरा गर्दा, यसैवर्ष उनी अभिनित फिल्म ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । उनी फिल्म ‘पाँच पाण्डव’ को तयारीमा छन् ।