शुक्रबार २६ मंसिर, २०८२

सन्तोष परियारलाई ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’

सन्तोष परियारलाई ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका हुन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबासाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित हौ, संगठित हौ र सङ्घर्ष गर’ भन्ने भनाइबाट आफू सधैँ प्रभावित रहेको र अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसीका साथै गम्भीर र जिम्मेवार महसुस भएको बताएका छन्।

उनले ‘ज्ञानको कुनै समय र सीमा हुँदैन भन्ने कुरा बाबासाहेबले प्रमाणित गरिदिएका’ भन्दै, संसारभरका दलनमा पारिएका, हेपिएका र समाजको संस्कृति, अर्थतन्त्र र राजनीतिबाट छुटाइएकाहरूका खातिर आफूले सक्ने जति सबै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

परियारका अनुसार पुरस्कार वितरण कार्यक्रम डिसेम्बर १३ र १४ तारिखमा दिल्लीमा हुनेछ। उनले कार्यक्रममा उपस्थित हुन सम्भव हुने साथीहरूलाई भेट्न आग्रहसमेत गरेका छन्।