हेटौँडाका पीडितको माग : सिडिओ र जिम्मेवार मन्त्रीको राजीनामा
हेटौँडा । सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मङ्सिर २० गते ५३१ भन्दा बढी घरहरू भत्काइएको घटनालाई लिएर पीडित पक्षले जिम्मेवार पदाधिकारीहरूको राजीनामासहित ६ बुँदे माग राखेका छन्।
हेटौँडा बसोबास संरक्षण समिति, समान नेपाल, योङ इन्डिजिनिष्ट लिग र मानव अधिकार सचेतना केन्द्रले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै घर भत्काउने कार्यले तीन जनाको ज्यान लिएको दाबी गर्दै त्यसको जिम्मा सरकारले लिनुपर्ने माग गरेका हुन्।
योङ इन्डिजिनिष्ट लिगका चिफ कमान्डर सनम लिम्बुले घर भत्काइएपछि गुणबहादुर जोशीले झुन्डिएर, साजन महर्जनले विष पिएर आत्महत्या गरेको र सोही दिन रामलाल रास्थालाको हृदयाघातका कारण मृत्यु भएको बताएका छन्।
उनले यो आत्महत्या नभई हत्या भएको र त्यसको जिम्मा सरकारले लिनुपर्ने माग गरे। मागहरू पूरा नभए शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसकारले मङ्सिर १९ गते शुक्रबार २ बजे अन्तरिम आदेश लिएर प्रशासन कार्यालय जाँदा पत्र दर्ता गर्न नमानेको तर भोलिपल्ट बिहान ४ बजे नै कुनै सूचना नदिई डोजर ल्याएर घर भत्काउन थालेको बताइन्।
समान नेपालका प्रवक्ता आरके तामाङले घर भनेको सपना, स्मृति र सुरक्षा भएको तर सरकारले शक्तिको दुरुपयोग गरेर पीडितहरूलाई विस्थापन र सुकुम्बासीकरण गरेको आरोप लगाए। उनले सडक विस्तार गर्नुअघि विकासबारेको चिन्तन विस्तार गर्न आग्रह गरे। नेवा अभियन्ता विद्या श्रेष्ठ महर्जनले हेटौँडा नेपालको ‘गाजा सहर’ भएको बताएकी छन्।
