आर्थिक र राजनीतिक अन्योलताले साइडवेजमा सेयर बजार
काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) २३.८ अंकले घटेको छ । साताको दिनमा भएको कारोबारमा चार दिन नेप्से घट्दा सेयर बजारमा सो बराबरको गिरावट आएको हो । यो अवधिमा सेयर बजार पुँजीकरण ३० अर्ब रुपैयाँ बराबर छ ।
पाँच कारोबार दिनमध्ये आइतबार बजार २१.४८ अंकले घट्यो । सोमबार ३.०२ अंकले घटेको बजारमा मंगलबार ७.३९ अंक सुधार भएको थियो । बुधबार र बिहीबार बजारले घट्ने क्रमलाई निरन्तरता दियो, जसअनुसार बजार क्रमशः ५.०३ र १.६६ अंकले गिरावट आयो ।
कारोबारका आधारमा पनि यो हप्ताको कारोबार सुखद रहेन । गत साता चार दिनमा सेयर बजारमा २१ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा सेयर बजार यो साता पाँच दिनको कारोबार २० अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।
यो साता सेयर बजारका २ समूहको मूल्य समग्रमा बढेको छ भने बाँकी १० समूहको मूल्य घटेको छ । म्यानुफ्याक्चरिङले २.३९ प्रतिशत र जीवन बीमा समूह ०.६९ प्रतिशतको मूल्य कमाउँदा फाइनान्स समूहले सर्वाधिक २.५६ प्रतिशत मूल्य गुमाएको छ । म्युचुअल फन्ड बाहेक अरू समूहको मूल्य १ प्रतिशत भन्दा माथिले घटेको छ ।
अहिले सेयर बजार नीतिगत रूपमा खुला अवस्थामा छ । बजारमा लगानीका लागि बैंकिङ स्रोतको प्रयोगको दायरा खुला हुँदै गएका छन् । नीतिगत अनुकूलले एक्सिलेट गरेको बजारलाई आर्थिक अवस्था र राजनीतिक अन्योलताले कमजोर बनाएको विश्लेषकहरू बताउँछन् ।
ठुलो उतारचढाव नआउनु र कहिले घट्ने र कहिले बढ्ने अवस्था हुनुले बजार साइडवेजमै रहेको बुझ्न सकिने विश्लेषकहरू बताउँछन् । लाभांशको सिजन सकिँदै गएकोले पनि बजार सुधार हुन नसकेको देखिन्छ ।
