गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण : ३७ वर्षीय अक्षय नयाँ अध्यक्ष, पवन ‘सम्मानित अध्यक्ष’
काठमाडौँ । नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन्। नौ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशकको रूपमा कार्यरत उनले अब ६ दशक लामो इतिहास बोकेको समूहको नेतृत्व सम्हाल्नेछन्।
ग्रुपले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो वार्षिक उत्सवको अवसरमा यो घोषणा गरेको हो। पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए।
ग्रुपका कर्पोरेट अफेयर्स प्रमुख ज्योति गैह्रैद्वारा जारी विज्ञप्तिमा अक्षय गोल्याण अब कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व गर्दै अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहने उल्लेख छ, जसले ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ।
विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये पर्ने स्पेनको ईएसएडीई यूनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका अक्षयले नौ वर्षदेखि प्रबन्ध निर्देशकको रूपमा ग्रुप अन्तर्गतका अन्य कम्पनीहरूलाई प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका थिए।
करिब १० हजार कर्मचारी कार्यरत र ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको यस ग्रुपको वार्षिक कारोबार ४०० मिलियन अमेरिकी डलरभन्दा बढी छ। ऊर्जा, नवीकरणीय ऊर्जा, कृषि, उत्पादनमूलक उद्योग र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले नेपालको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष अक्षय गोल्याणले भनेका छन्, ‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रूपान्तरण गर्ने जिम्मेवारी पनि हो। गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रूपमा स्थापित गर्न हामी प्रतिवद्ध छौं। हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ।’
सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ’सम्मानित अध्यक्ष’ र ’प्रमुख संरक्षक’ को सम्मान दिएको छ। नवनियुक्त अध्यक्ष अक्षयले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूलमर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
