सिरहामा कृषि तथा पशुपन्छी बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मंसिर २५ गते विहीबार सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले वास्तविक कृषकलाई बीमाका बारेमा जानकारी नै नभएको, बीमा गर्ने प्रक्रिया झन्झटयुक्त रहेको, बीमा दाबी भुक्तानीमा समस्या देखिएको, कृषि बीमा अभिकर्तामा समस्या रहेको, कृषकसम्म बीमा कम्पनीहरू नपुगेको र स्थानीय तहले बीमालाई सहयोग पुग्ने गरी कार्यक्रम तथा बजेट ल्याउनु आवश्यक रहेको लगायतका धारणा राखेका थिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावलले बीमाको परिचय र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र कृषि तथा पशुन्छी बीमाको दायरा विस्तारमा सरोकारवालाहरूको भूमिका लगायतका विषयमा प्रस्तुती दिएका थिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठ, कृषक, बीऊविजन तथा कृषि व्यवसायी, निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर र कृषि बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो।
