आलुको बीउमा आत्मनिर्भर जलजला गाउँपालिका
म्याग्दी । पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० सय दाना रोपेर पहिलो पुस्ताको बीउ उत्पादन थालिएको थियो ।
पिबिएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुन्छ । यसअघि जलजलाका किसानले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुने गरेकामा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिन थालेको किसानले बताएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले किसानले उत्पादन गरेको बीउलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदानसहित पोखराको चिस्यानगृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको बताए ।
अनुदानमा एक बोरा आलुको बीउ लैजाने किसानले कम्तीमा पाँच बोरा गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने सर्त छ । गाउँपालिकालाई उपलब्ध गराएर बचेको बीउ किसानले छिमेकी जिल्ला म्याग्दी, बागलुङ, कास्की र पर्वतका अन्य स्थानीय तहमा बेच्छन् । जलजलामा वार्षिक एक हजार ८०० बोरा आलुको बीउ आवश्यक पर्ने गरेको जनाइएको छ ।
जलजलाको बनौ, तारे, शालिजा, लेकफाँट, धाइरिङको धाखेत, धारापानीमा बर्खे र सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती आलुखेती हुने गरेको छ । राम्रो मूल्य र बजार पाइने भएकाले खानका साथै बीउ उत्पादनमा किसान आकर्षित भएका छन् ।
जलजला–बाँसबोट कृषक समूहका सचिव कमलनयन आचार्यले ८० रोपनी खेत भाडामा लिएर १६ जनाले सामूहिक बीउका लागि आलुखेती सुरु गरिएको जानकारी दिए । किसानले व्यक्तिगत रूपमा ५० बोरा र समूहले एक सय १५ बोरा आलु रोपेका उनले बताए ।
