मंगलबार ०१ पुस, २०८२

अर्थतन्त्रको वर्तमान अवस्था : विदेशी मुद्रा ३० खर्ब बढी, घट्दो मूल्य वृद्धि

अर्थतन्त्रको वर्तमान अवस्था : विदेशी मुद्रा ३० खर्ब बढी, घट्दो मूल्य वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको अर्थतन्त्र स्थिर लयमा रहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मको चार महिनाको तथ्यांकले अधिकांश आर्थिक सूचक सकारात्मक रहेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.६० प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ। चार महिनाको औसत मुद्रास्फीति १.५३ प्रतिशत रहेको छ, अघिल्लो वर्षको सोही अवधिमा ४.५९ प्रतिशत थियो।

खाद्य उपसमूहमा तरकारी, मरमसलो र दाल–गेडागुडीको मूल्य घटेको छ, भने घ्यू–तेल, गैरमदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डाको मूल्य बढेको छ। गैरखाद्य–सेवा समूहमा शिक्षा, कपडा–जूता, सुर्तीजन्य पदार्थ, फर्निसिङ तथा घरायसी उपकरणको मूल्य वृद्धि भएको छ।

चार महिनामा देशभित्र झन्डै ७ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.५ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८ करोड पुगेको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जसले २० महिना ८ दिनको आयात धान्न पर्याप्त रहेको देखाएको छ।

चालू खाता बचतमा २ खर्ब ७९ अर्ब रुपैयाँ देखिएको छ भने खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४९ करोड कायम छ। सेवा आय भने ३२ अर्ब ९१ करोड घाटामा छ, जबकि भ्रमण आय २७ अर्ब १५ करोड पुगेको छ।

पुँजी बजारमा नेप्से परिसूचकमा २०८.२१ अंकले गिरावट आएको छ। २०८२ कात्तिक मसान्तमा नेप्से परिसूचक २५४०.५८ रहेको छ। बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब रुपैयाँ कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनको ६९.८५ प्रतिशत प्रतिनिधित्व गर्दछ। चार महिनामा ३६ अर्ब १६ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन्, जसमा साधारण सेयर, हकप्रद सेयर, म्युचुअल फण्ड, डिबेन्चर र बोनस सेयर समावेश छन्।

राष्ट्र बैंकको तथ्यांकले मूल्य स्थिरता, बढ्दो रेमिट्यान्स, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैंकिङ तथा पुँजी बजारमा क्रमिक वृद्धि नेपालको अर्थतन्त्रमा स्थिरता संकेत गरेको देखाएको छ।