मंसिरमा मात्रै ३ खर्ब बढी तरलता प्रशोचन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएर बसेको छ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता जम्मा हुँदा यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई चुनौती थपिएको छ।
बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन गर्दै आएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बजारबाट अतिरिक्त पैसा खिचिरहेको छ।
यसैक्रममा केन्द्रीय बैंकले मंसिर लागेयता मात्र ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरिसकेको छ। केन्द्रीय बैंकले मंसिर ३ गते ८४ दिनका लागि ५० अर्ब, मंसिर ७ गते ८६ दिनका लागि ५० अर्ब, मंसिर १० गते ४२ दिनका लागि ३० अर्ब, मंसिर १७ गते २८ दिनका लागि ६० अर्ब, मंसिर २१ गते ८४ दिनका लागि ९० अर्ब, मंसिर २४ गते १८ दिनका लागि ४० अर्ब र मंसिर २८ गते १० दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन गरेको हो।
