मंगलबार ०१ पुस, २०८२

पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने गिरोह सक्रिय

पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने गिरोह सक्रिय

काठमाडौँ । पर्यटक भिसाको आडमा नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको खुलासा भएको छ । बिचौलियाहरूले घरेलु कामदारका रूपमा काम लगाउने उद्देश्यले महिलाहरूलाई घुम्न जाने कागजात तयार गरी कुवेत पठाउने गरेको पाइएको हो ।

सरकारले २०७३ सालदेखि कुवेतमा घरेलु कामदार पठाउन रोक लगाएको भए पनि गिरोहले वैकल्पिक बाटो अपनाएर महिलालाई विदेश पठाइरहेको देखिएको छ ।

डिसेम्बर ५ मा गिरोहले ‘सेटिङ’ मिलाएर एक नेपाली महिलालाई कुवेत पठाएको पाइएको छ । ती महिलाले हिमालय एयरलाइन्सको बोर्डिङ पास लिएको देखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमनको पर्यटक भिसा पेस गरेकी थिइन् । अध्यागमन कार्यालयको रेकर्डअनुसार ओमन जानुपर्ने ती महिला सीधा उडानमार्फत कुवेत पुगेकी हुन् ।

नेपालबाट ओमन जान पर्यटक भिसा आवश्यक पर्ने भएकाले बिचौलियाहरूले यही प्रक्रियाको दुरुपयोग गरेको विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार काठमाडौँमा ओमनको भिसा देखाइए पनि महिलाले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भिसा प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको निर्णयविपरीत घरेलु कामदार पठाइएको पुष्टि भए संलग्न सबैलाई कारबाही गरिने बताएका छन् । ‘कुवेतमा घरेलु कामदारको रूपमा कसैले पठाएको पाइए त्यसबारे गहिरो छानबिन हुन्छ,’ उनले भने ।

यसैबीच, प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानले नेपालबाट कुवेत पठाइएका महिलाहरू श्रम तथा यौन शोषणमा पर्ने गरेको देखाएको छ । कुवेत सरकारले समेत भिजिट भिसामा जाने नेपालीमाथि पछिल्लो समय कडाइ बढाएको छ ।

अधिकारीहरूका अनुसार ओमनको भिसा प्रयोग गरी महिलालाई चीनतर्फ समेत तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । चीनमा बच्चा जन्माउन लगाएर त्यसको बदलामा आर्थिक लाभ लिने गतिविधि भइरहेको आशंका गरिएको छ । यही सिलसिलामा काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा कात्तिक २९ गते चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

भिजिट तथा पर्यटक भिसामा विदेश जाने क्रममा बिचौलियाको चलखेल बढेपछि गृह मन्त्रालयले भिसा सम्बन्धी मापदण्ड परिमार्जन गरेको छ । २०८० माघ १० देखि लागू गरिएको विवादित ६ बुँदे मापदण्ड खारेज गर्दै कात्तिक १३ गतेदेखि नयाँ मापदण्ड लागू गरिएको अध्यागमन विभागले जनाएको छ ।

नयाँ मापदण्डअनुसार कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी, सम्बन्धित देशको भिसा वा अन अराइभल भिसा, गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजातसहित स्वयं जिम्मेवार रहने स्वघोषणा फारम भराएपछि भिजिट भिसामा विदेश जान अनुमति दिइनेछ ।

अध्यागमन विभागको निष्कर्ष अनुसार अघिल्लो ६ बुँदे मापदण्डकै कमजोरीको फाइदा उठाउँदै बिचौलियाहरूले ‘सेटिङ’मार्फत मानव तस्करीको धन्दा सञ्चालन गर्दै आएका थिए ।