बुधबार ०२ पुस, २०८२

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : ऊर्जामन्त्री घिसिङ

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : ऊर्जामन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । 

राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधवार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

उनले नेपालतर्फ पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।

कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतका तर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे ।

नेपाल-भारतबिच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँद याममा तीन सय क्युसेक र वर्षा याममा एक हजार क्युसेक पानी पाउने व्यवस्था रहेको छ ।

सन्धि बमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा सो आयोजनका काम कारबाहीबारे आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।