बुधबार ०२ पुस, २०८२

५ महिनामै वीरगञ्ज भन्सारले उठायो ९६ अर्बभन्दा बढी राजस्व

५ महिनामै वीरगञ्ज भन्सारले उठायो ९६ अर्बभन्दा बढी राजस्व

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब १ करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

जबकी कार्यालयले गत आवको ५ महिनामा भने ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ५ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए । ‘कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।’

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको ५ महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ तथा मङ्सिर महिनामा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको ५ महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।