पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब बढी
काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म वैदेशिक लगानी प्रतिबद्धता निरन्तर बढ्दै गएको छ। उद्योग विभागका अनुसार पछिल्लो पाँच महिनामा कुल ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। यस अवधिमा ४३८ परियोजनाका लागि विदेशी लगानी स्वीकृत गरिएको छ।
परियोजनाको संख्या अनुसार सबैभन्दा बढी ICT (सूचना तथा सञ्चार प्रविधि) क्षेत्रमा २३६ परियोजना स्वीकृत भएका छन्। तर लगानी रकमका हिसाबले कृषि तथा वनजन्य उद्योग क्षेत्र अग्रस्थानमा रहेको छ। यस क्षेत्रमा १३ परियोजनाका लागि झण्डै २२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।
उद्योग विभागका तथ्यांक अनुसार साउन–मङ्सिर अवधिमा ICT क्षेत्रमा ५४%, उत्पादन क्षेत्रमा ६%, कृषि क्षेत्रमा ३%, पर्यटन क्षेत्रमा ३१% र सेवा क्षेत्रमा ६% लगानी प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको मङ्सिरसम्म १०,७५५ उद्योग दर्ता भएका छन् भने ७,१३९ परियोजनामा लगानी स्वीकृत भएको छ। यसका लागि अहिलेसम्म ६ खर्ब २३ अर्ब ८२ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
महिना अनुसार लगानी प्रतिबद्धता हेर्दा साउनमा ५९ करोड ७५ लाख, भदौमा ३३ अर्ब ९ करोड, असोजमा २ अर्ब ४ करोड, कात्तिकमा १ अर्ब ५४ करोड र मङ्सिरमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ भएको छ। सबैभन्दा बढी लगानी प्रतिबद्धता भदौ महिनामा ३३ अर्ब रुपैयाँ आएर जेनजी आन्दोलनपछि पनि विदेशी लगानीमा असर नपरेको देखिएको छ।
पछिल्लो पाँच महिनामा कृषि तथा वनजन्य क्षेत्रमा २१ अर्ब ८८ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा १० अर्ब १२ करोड रुपैयाँ, सेवा क्षेत्रमा ३ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यसले ICT, पर्यटन र कृषि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको संकेत दिएको छ।
तर ऊर्जा र पूर्वाधार क्षेत्रमा विदेशी लगानी आकर्षण न्यून रहेको छ। उद्योग विभागका अनुसार, सरकारी नीतिगत अस्थिरता र जटिल प्रक्रियाका कारण लगानीकर्ता ऊर्जा र पूर्वाधारमा कम केन्द्रित भएका छन्। हाल लगानीकर्ताहरू साना, छिटो प्रतिफल दिने र सेवा आधारित उद्योगहरूमा बढी ध्यान केन्द्रित गरिरहेका छन्।
मङ्सिर महिनामा मात्र १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। यस अवधिमा ५६ उद्योगमा लगानी स्वीकृत भएको थियो, जसमा ५४ साना र २ मझौला उद्योग थिए।
साउन–मङ्सिर अवधिमा वैदेशिक लगानी रोयल्टीबापत १ अर्ब ६२ करोड ६७ लाख ३१ हजार रुपैयाँ फिर्ता लैजान स्वीकृत गरिएको छ। यसका लागि ६,४०,२३६ अमेरिकी डलर र १५ करोड ३३ लाख ५१ हजार भारु स्वीकृत भएका छन्। साथै, यस अवधिमा उद्योग विभागले १७८२ लगानीकर्ताका लागि भिसा सिफारिस गरेको छ।
