माओवादी मासियो, राप्रपा कहिल्यै मासिँदैन : बुद्धिमान तामाङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाका नेताहरू यताउता भए पनि राप्रपाको अस्तित्व कहिल्यै नमासिने बताएका छन् ।
बुधबार काठमाडौँमा राप्रपा नेपालसँगको पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता तामाङले यस्तो बताएका हुन् ।
‘राप्रपा भन्ने पार्टी कहिल्यै मासिँदैन, संसारमा रहेका राजनीतिक दलका तीन धारमध्ये एउटा धार हामीले समातेका छौ’, तामाङले भने, ‘१० वर्ष जनयुद्ध गरेको माओवादी सत्तामा आएपछि १९ वर्ष पनि नटिकिकन त्यो दल (माओवादी) नै मासियो । तर राप्रपा कहिल्यै मासिँदैन भन्ने कुरा ध्रुवसत्य हो ।’
नेता तामाङले राजसंस्थाको आवस्यकता थप आवश्यक हुँदै गएको भन्दै अब आफूहरूले अघि सारेको माग पुरा हुने चरणमा पुगेको दाबी समेत गरे ।
