निर्वाचन सुरक्षा तयारी : डेढ लाख म्यादी प्रहरी भर्ना गर्न सात अर्ब बजेट स्वीकृत
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले निर्वाचन सुरक्षाका लागि डेढ लाखभन्दा बढी निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट स्वीकृत गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि बजेट सुनिश्चित भएसँगै निर्वाचन प्रहरी भर्ना प्रक्रिया छिट्टै अघि बढ्ने भएको छ।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने स्वीकृति पाएका छन्। यसका लागि नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड २५ लाख ८९ हजार रुपैयाँ र सशस्त्र प्रहरीलाई ८० करोड ८४ लाख ५३ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।
गृह मन्त्रालयबाट अघि बढेको फाइल लामो समय अर्थ मन्त्रालयमा अड्किएको भए पनि हाल बजेट सुनिश्चित भएसँगै भर्ना प्रक्रिया सुरु गर्न बाटो खुलेको हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र केही दिनमै दरखास्त आह्वान गरिनेछ।
यसपटक अघिल्लो निर्वाचनको तुलनामा निर्वाचन प्रहरीको संख्या बढाइएको छ। सुरक्षा चुनौती जटिल बन्दै गएको, ठूलो संख्यामा कैदीबन्दी फरार रहेको, हतियार र गोली बाहिरै रहेको तथा मतदाताको संख्या बढेको कारण सुरक्षाकर्मीको संख्या बढाउनुपरेको गृह मन्त्रालयको निष्कर्ष छ।
निर्वाचन सुरक्षाका लागि तीन तहको घेरा बनाइनेछ। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ। नेपाली सेना निर्वाचनभन्दा एक महिना अघिबाट फिल्डमा परिचालन हुने र ४० दिनसम्म सेवा–सुविधा उपलब्ध गराइनेछ।
४० दिनका लागि भर्ना हुने निर्वाचन प्रहरीलाई प्रहरी जवानको सुरुवाती स्केलअनुसार तलब–भत्ता दिइनेछ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् भने अवकाश प्राप्त सेना, प्रहरी र सशस्त्र प्रहरीलाई विशेष प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
सरकारले निर्वाचनलाई शान्त, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न व्यापक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
