अविमोच्य सेयरमा बैंकहरुको आकर्षण बढ्यो, माछापुछ्रे बैंकले पनि ३ अर्बको सेयर जारी गर्ने
काठमाडौं । राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सहजीकरण गरेपछि वाणिज्य बैंकहरु यसतर्फ आकर्षित हुन थालेका छन् ।
पुँजी कोष दबाबमा रहेका बैंकहरुले यो प्रकृतिको सेयर जारी गर्ने निर्णय गरिरहेका छन् ।
नबिल बैंकले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता सेयर जारी गरिसकेको छ । जसबाट बैंकको ५ अर्ब पुँजी समेत थप भएको छ । नबिलले यी सेयर धनिलाई वार्षिक ८ प्रतिशतको प्रतिफल दिने घोषणा समेत गरिसकेको छ ।
यसअघि कृषि विकास बैंकले पनि सो प्रकृतिको सेयर जारी गरी सेयर धनिहरुलाई लाभांस नै वितरण गर्न थालिसकेको छ ।
यसैबिच माच्छापुच्छ्रे बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न साधारण सभाबाट निर्णय गराइसकेको छ । बैंकले हाल कायम १५ अर्ब चुक्ता पुँजीलाई वृद्धि गरी २० अर्ब पुर्याउने निर्णय भएको छ ।
जसमा आर्थिक वर्ष २०८१/०८२ को मुनाफा वापतको ४ प्रतिशत बोनस सेयर समेत समावेश हुनेछ । यस्तै, प्रतिकित्ता १०० रुपैयाँको दरले ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने उल्लेख छ । जसले बैंकको ३ अर्ब पुँजी वृद्धि गर्नेछ । बैंकले यस्तो प्रकारका सेयर धनिलाई ८.२५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंकको २७ औं साधारण सभाले पुँजी वृद्धिको निर्णय गरेको हो ।
कस्ले किन्न पाउँछ ?
अविमोच्य असञ्चिति अग्राधिकार सेयर व्यक्तिले भने खरिद गर्न पाउँदैन । यसका लागि संस्थागत लगानीकर्ता आवश्यक पर्छ । बैंकले यसरी जारी गर्ने शेयर विभिन्न इन्स्योरेन्स कम्पनीहरु, नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नेपाल पुनर्बीमा कम्पनी लगायतले पनि अग्राधिकार सेयर किन्न सक्नेछन् ।
