आइतबार २७ पुस, २०८२

५ महिनामा ५८ प्रतिशतले बढ्यो वस्तु निर्यात, व्यापार घाटा ६ खर्ब नाघ्यो

५ महिनामा ५८ प्रतिशतले बढ्यो वस्तु निर्यात, व्यापार घाटा ६ खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर १६.५ प्रतिशत मात्र रहेको थियो। गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ८२.७ प्रतिशतले र अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात भने ७३.३ प्रतिशतले घटेको देखिन्छ। वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटजन्य सामग्री, जुत्ता तथा चप्पलजस्ता वस्तुको निर्यातमा वृद्धि भएको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ।

समिक्षा अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधनतथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी र ६९ अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.८ प्रतिशत, २९.६ प्रतिशत र ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ५५.० प्रतिशत, ४४.१ प्रतिशत र ०.९ प्रतिशत रहेको थियो ।