निर्वाचनपूर्व गठबन्धन खारेज गर्ने गगनको उद्घोष
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन अघि गरिने गठबन्धनलाई खारेज गर्ने उद्घोष गरेका छन् ।
कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धन संस्कृति अन्त्य गर्ने उद्घोष गरेका हुन् ।
‘पार्टीका आदर्श र सिद्धान्तलाई तिलाञ्जली दिएर राजनीतिलाई केवल सत्ता प्राप्ति र शक्तिको स्वार्थमा केन्द्रित गर्ने, सत्तालाई नै एकमात्र लक्ष्य ठान्ने र चुनाव जित्नुलाई नै अन्तिम विजय मान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई हामी पूर्णतः अस्वीकार गर्दछौँ,’ प्रस्तावमा अगाडि भनिएको छ ।
२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट निर्वाचन अगाडिको गठबन्धनका सन्दर्भमा पारित नीतिलाई स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनपूर्वको गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक विचार र सङ्गठनलाई थप क्षति पुग्ने तथ्यलाई मनन गर्दै, पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई विश्वास दिलाउँदै नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन गर्ने छैन।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेसँग चुनावी गठबन्धनको लागि संवादमा रहेको खबर बाहिरिएको बेला कांग्रेस विशेष महाधिवेशनले चुनावी गठबन्धन नगर्ने संकल्प गरेको हो ।
